
काठमाडौं, २८ फाल्गुन । स्थानीय निर्वाचनमा दलीय चुनाव चिन्हमा भाग लिन पाउनुपर्ने माग गरी राष्ट्रिय जनमुक्ति पार्टीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
बिहीबार जनमुक्तिले चुनाव चिह्न ‘घर’ पाउनु पर्ने माग सहित सर्वोच्चमा रिट दायर गरेको हो ।
जनमुक्ति पार्टीका उपमहासचिव समेत रहेका अधिवक्ता चेत आलेद्वारा दायर रिटमा भनिएको छ, ‘निवेदक राष्ट्रिय जनमुक्ति पार्टीको दल निर्वाचन आयोगमा दर्ता हुँदाका बखत प्राप्त गरेको चुनाव चिह्न घर पाउने गरी आवश्यक अध्यादेश, ऐन, नियम ल्याउन, पारित गर्न प्रत्यार्थीहरूको नाउमा परमादेशको आदेश लगायत जो चाहिने उपयुक्त आज्ञा वा आदेश जारी गरिपाउँ ।’
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद्, कानून मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।
अहिलेसम्म निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र निर्वाचनमा दलीय चुनाव चिह्न प्रदान गर्दै आएको छ । राष्ट्रिय मान्यता नपाएका अन्य २८ दलले पनि दलीय चुनाव चिह्न प्रदान गर्नुपर्ने माग गर्दै आएका छन् ।
यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि आफू प्रदेश नं. १ मा सरकारमा समेत सहभागी भएको दल भएको हुँदा र उपनिर्वाचनमा भाग लिदाँ निर्वाचन आयोगले आफ्नै चुनाव चिन्ह दिएको हुँदा चुनाव चिन्ह पाउनु पर्ने माग रहेको महासचिव अशोक चेम्जोङले बताए ।