
पथरी, ४ चैत्र । २०४७ साल देखि जातीय मुक्ति आन्दोलनमा निरन्तर लड्नु भएका लिम्बुवान आन्दोलनका एक खम्बा अमृत मादेन अस्ताएका छन् । जनजाति पार्टी देखि जनमुक्ति हुँदै लिम्बुवानको लामो राजनीतिमा होमिएका मादेनको निधनले सिंगो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र लिम्बुवान सहित १०+१ प्रान्तीय मञ्च स्तब्ध भएको छ ।
केही बर्ष देखि स्वास्थ्यमा समस्या आई आराम गरिरहनु भएका मादेनको भारतको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको पारिवारिक स्रोतले जनाएको छ । संघीय लिम्बुवान राज्य परिषद हुँदा पथरीनगरमा धेरै संघर्ष गर्नु हुने एक कुशल अभिभावकको निधन भएको मञ्चका मोरङ जिल्ला अध्यक्ष जीवन खेवा बताउँछन् ।
हाल लिम्बुवानको सल्लाहकार रहनुभएका नेता मादेन मञ्चको हरेक कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुने गर्दथे । लिम्बुवान राजनीतिको अनेक उथलपुथलमा समेत अडिग भई पहिचानको राजनीतिमा निरन्तर देन रहेको मञ्चका नेताहरुले जनाएका छन् ।
ताप्लेजुङको खोक्लिङमा पिता कुलबहादुर मादेन र आमा लालकुमारी मदेन्छङको कोखबाट बि.सं. १९९६ सालमा जन्मिएका मादेनको ८२ बर्षको उमेरमा शुक्रबार निधन भएको हो ।
मृतक मादेनका एक श्रीमती, दुई छोराबुहारी, ३ नाती र १ नातिनी रहेको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थीव शरीरमा पार्टीका अध्यक्ष कुमार लिङदेन मिराकबाट झण्डा ओडाई आफ्नो धार्मिक परम्परा अनुसार आजै अन्तेष्टी गरिएको छ ।