
काठमाडौं , ७ चैत्र। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिह्नबाट निर्वाचन लड्नका लागि निर्वाचन आयोगमा ५८ राजनीतिक दलले विवरण बुझाएका छन् । राष्ट्रिय पार्टी बाहेकका दलहरुको विवरण अध्ययनको क्रममा रहेको निर्वाचन आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा संचालन गर्ने सन्दर्भमा प्रचलित कानून बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता भएका दलको उम्मेद्वारलाई सोही दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सम्बन्धमा निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम जिल्ला स्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण २०७८ चैत्र ६ गतेभित्र पेश गर्न पत्राचार गरेको थियो । सोही अनुसार ५८ वटा दलहरूबाट विवरण प्राप्त भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
जिल्लामा पेश भएका विवरण आयोगमा प्राप्त हुने रहेको आयोगले जनाएको छ । साना राजनीतिक दलले चुनाव चिह्नमा विभेद भएको भन्दै चर्को विरोध गरेपछि आयोगले दलकै चुनाव चिह्न दिनेगरी नयाँ निर्णय गरेर विवरण मागेको थियो ।