पहिचानवादीहरुको विराटनगरमा वृहत जनप्रदर्शन

 लिम्बुवान न्युज
                       

विराटनगर, ५ चैत्र । कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै पहिचानवादी दल, संघसंगठानहरु आन्दोलनमा उत्रिएका छन् । पहिचान मेटाएर प्रदेशको नाम राखेको भन्दै असन्तुष्ट बनेका पहिचानवादी दल र संघसंगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

अघिल्लो प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद र पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वको प्रदेश सरकारले प्रदेश १ को नामाकरण नगरी प्रदेशसभाको कार्यकाल सकिएसँगै शान्त रहेको विराटनगरका सडक आइतबार तनावग्रस्त बनेको छ ।

गत पुस १७ गते प्रदेश १ को नाम सुटुक्कै कोशी प्रदेश राखेसँगै असन्तुष्ट बनेका पहिचानवादी दल, संघसंगठनले आइतबार जनप्रदर्शन गरे । उनीहरुले २ सय भन्दा बढी बस तथा साना गाडी र दुई पांग्रे सवारी साधनबाट करिब २० हजार मानिस सडकमा उतारेको दाबी गरेका छन् ।

चरणबद्ध कार्यक्रम गर्दै पुस २७ गते राँके जुलुस, २८ गते प्रदेश १ आमहड्तालका साथै दुई दिनअगाडि मात्रै प्रदेशको नाम कोशी खारेजीको माग गर्दै प्रदेशसभा अगाडि आयोजित पहिचानका लागि सडक साहित्य यात्रा कार्यक्रमका सहभागीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यहाँबाट पत्रकार जनकऋषि राईसहित अर्का साहित्यकार तथा पत्रकार सञ्जय याख्खा पनि पक्राउ परेका थिए । त्यो घटनाले आक्रोशित बनेका पहिचानवादी संघ संगठनले आगामी दिनमा पछि नहट्ने चेतावनीसमेत दिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध नाराजाबाजीसमेत गरेका भीडले कार्कीले आदिवासी जनजातिको भावनाअनुरुप कदम नचालेको आरोप लगाएको छ । प्रदर्शनको क्रममा मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी र पुत्ला दहन समेत गरिएको छ ।

प्रदर्शनकारीले स्थानीय प्रशासनले घोषणा गरेको रोडशेषस्थित मुख्यमन्त्री कार्यालयअगाडिको निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीसँग झडपसमेत भएको छ । झडपमा २ जना प्रहरी घाइते भए भने प्रहरीले ४ जना प्रदर्शनकारी नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले अबेर छोडिदिएको छ । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले ४ राउण्ड हवाई फायर तथा दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडि बढेपछि भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ। झडपपछि तित्तरवित्तर भएको प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयनजिकै पुनः भेला भई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने पहिचानवादी नेताहरूले कोशी प्रदेश सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए । पूर्वमन्त्री गोपाल किराँतीले दीर्घकालीन आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिएका थिए । उनले आदिवासीलाई कुल्चिएको बताउँदै भने, ‘अब कोशी प्रदेश सरकार लेख्ने तयारी हामीलाई के थाहा छ भने हामी त्यो पुस्ताका क्रान्तिकारी कार्यकर्ता हौं । नेपालको हरेक टोलटोलमा श्री ५ को सरकारको साइन बोर्ड हुन्थ्यो‚ आज खोई? सबै उप्काएर मिल्काइयो ।’

उनले श्री ५ को सरकारलाई जसरी जनताको बलमा आन्दोलनमार्फत मटियामेट गरियो, त्यसरी नै कोशी प्रदेश सरकारको साइनबोर्ड पनि मिल्काउने चेतावनी दिए । “पहिचानको आन्दोलन दबाउने कोशिस गरिए बन्दुक उठ्ने चेतावनी” समेत उनले दिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले पहिलो चरणको आन्दोलन कास्टिङमात्रै भएको बताउँदै दोस्रो चरणमा मुख्यमन्त्री कार्यालय र प्रदेशसभालाई १ महिना घेराउ गर्ने चेतावनी दिए ।

उनले प्रदेशको नाम गुण्डागर्दी शैलीमा कोशी राखिएको बताउँदै संविधानमा ७२ घण्टाअगाडि सबै राजनीतिक दल र सरोकारवालालाई सार्वजनिक गर्नुपर्ने विषय गोप्य ढंगले गरिएको बताउँदै उनले यो विषयमा आफूहरुले आपत्ति जनाएको बताए ।

प्रदेश २ मा गोप्य मतदान गरिएकोबारे बोल्दै प्रदेश १ मा हिक्मत कार्कीले खुल्ला मतदान गर्न लगाएको आरोप लगाए । उनले भने, ‘सांसदलाई कारबाहीको धम्की दिइयो । यो गुण्डागर्दीप्रति हामी खेद व्यक्त गर्दछौं साथै उनले यो निर्णय उल्ट्याउनु पर्ने जिकीर गरे।’

यस्तै कोणसभामा विद्रोह गर्ने चेनावनी दिँदै आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले पहिचानसहितको प्रदेश माग्दा नदिए देशका लागि विद्रोह गर्ने बताए । आफूहरुको माग प्रदेशको १ नाम पहिचानसहितको लिम्बुवान, किरात, शेर्पालुङ रहेको बताउँदै उनले भने, ‘पहिचान दिनलाई गाह्रो पर्नेछ भने प्रदेश होइन हामी देश माग्छौं । शान्तिपूर्ण आन्दोलन पर्याप्त नभए हामी विद्रोह गर्नेछौं ।’

यसैगरी कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा, किरात धर्म तथा सहित्य उत्थान संघका अध्यक्ष डकेन्द्र सिंह थेगिम, संविधानसभा सदस्य आडदेवा शेर्पा, किरात राई यायोक्खाका उपाध्यक्ष तिलक प्रसाद राई, आदिवासी जनजाति महासंघका अध्यक्ष तथा नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे शेर्पा, जसपा राजनीति समिति सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई त्यसैगरी किरात याक्थुङ चुम्लुङ् अध्यक्ष प्रेम येक्तेनले प्रदेशसभाले छापामार शैलीमा कोशी प्रदेश नामाकरण गरेकोमा विरोध गर्दै आ–आफ्ना भनाई राखेका छन् ।

 

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...