
नेपालको राजनीति इतिहासमा पूर्वलाई उर्वरभूमि मानिन्छ । २००३ सालमा कांग्रेसको स्थापना हुँदैगर्दा बिपीहरुले पूर्वबाटै राजनीति पार्टी स्थापना गरेका थिए । यसैगरी कम्यूनिस्ट आन्दोलनको पृष्ठभूमिलाई हेर्ने हो भने पूर्व नै यसको किल्ला मान्दा हुन्छ ।
मदन भण्डारी, रत्नकुमार वान्तवाहरुको त्यागले आज कम्यूनिस्टको किल्ला पूर्व नै बनेको हो । यसैगरी २०६२÷०६३ को जनआन्दोलन पश्चात खुलेको पहिचानवादी पार्टीहरु र मधेशवादी पार्टीहरु पनि पूर्वबाटै उदाएका हुन् । तर, २० बर्षमा देशमा परिवर्तनको नयाँ शंखघोष भयो । नयाँ पुस्ता जेनजीको रुपमा उदय भयो र २०८२ भदौं २३ र २४ गते नेपालमा कसैले कल्पनापनि नगरेको नयाँ आन्दोलन भयो । यो आन्दोलनले ठूला दुई पार्टीको सत्ता मात्र ढालेको छैन उनीहरुको राजनीति पार्टी नै समाप्तितिर पुगेका देखिन्छ ।

परिक्षणको रुपमा स्वतन्त्र बनेर काठमाडौं महानगर र धरान उपमहानगरमा स्थानीय निर्वाचनमा झण्डा गाडेका दुई पात्रहरु यतिवेला देशको मुहार फेर्ने प्रमुख स्थान प्रतिनिधिसभामा पुगेका छन् ।
बालेन काठमाडौंबाट राष्ट्रिय स्वतन्त्र पार्टीको ब्राण्ड एम्बास्टर बनेर सुनामी ल्याउँदै देशको ५० भन्दा बढी जिल्लाहरुमा पुगेर रास्वपालाई देशकै ठूलो दल बनाउँदै दुईतिहाईको नजिकमा पुग्दै गर्दा धरानबाट एउटा अटोबाट प्रचारप्रसार गर्दै धरानका मेयर बनेका निवर्तमान मेयर हर्क साङपाङले जेनजी आन्दोलन पश्चात ४ महिना अघि स्थापना गरेका श्रम संस्कृति पार्टी पहिलोपटक संसदीय निर्वाचनमा भाग लिदै राष्ट्रिय पार्टी बनाउन सफल भएका छन् ।
नेपालको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिलाई क्यास गर्दै साम्पाङले आफू देशको प्रधानमन्त्री बन्ने घोषणा सहित नयाँ पार्टी स्थापना गरेका हुन् । यद्यपी उनको दल पहिलो नभए पनि पाँचौं दल बनेको छ । प्रायः साधारण पहिरनमा देखिने हर्कराज राई (साम्पाङ) सिधा, कडा र स्पष्ट वाकशैलीका कारण देशैभरि परिचित छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयर जितेका साङपाङ्ले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा धरान उपमहानगरपालिको मेयरबाट राजीनामा दिएर संसदीय चुनावमा होमिएका थिए ।
१६ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको हर्कको पार्टीले ‘हर्कवाद’ लाई आफ्नो राजनीतिक विचार र दर्शन भनेको छ । प्रकृति, संस्कृति र प्रविधिको समिश्रण नै हर्कवाद भएको व्याख्या गर्ने श्रम संस्कृति पार्टीका लागि पूर्वको माटो उर्वर देखिएको छ । उनको पार्टीको निर्वाचन चिन्ह ‘माटो’ राख्नु पनि फलिफाप सिद्ध भयो ।
प्रकृति, संस्कृति र प्रविधि यि तिनवटा नारालाई पार्टीको विचार हुन् भनेर देशको केही स्थानमा पुगेर भाषण गरेका साङपाङ एक्लैले ठूला दलहरुलाई चुनौती दिएको पक्कै हो । नेपालको निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा आधारित छ । यसर्थ संसदको बहुमत निर्वाचित भएपछि मात्र प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था भएको हुँदा स्वतन्त्रबाट सम्भव नहुने भनी उनले राजनीतिक दल खोलेर प्रधानमन्त्री बन्ने बाटो रोजेका हुन् । यद्यपी उनको दल पहिलो बन्न भने सकेन ।
चुनावी मैदानमा उत्रिएका साङपाङले हर्कवाद नै पार्टीको राजनैतिक विचार र दृष्टिकोण भएको स्पष्ट पार्दै श्रम नगरी देश बन्दैन भन्ने उनको स्पष्ट तर्क रहेको छ भने प्रकृति, संस्कृति र प्रविधि यि तीनवटा विचारलाई मिश्रण गरेर मात्र देशमा विकास हुन्छ भन्ने बुझाई उनको छ । यो भनेकै हर्कवाद हो भन्ने विचारलाई लिएर देश दौडाहा गर्दैगर्दा मतदाताहरुमा आकर्षण बढेको देखिन्छ ।
उनको श्रमदान गर्ने शैली र प्रचारले उनलाई जनतामाझ जान सजिलो बनायो । धरानमा ४३ किलोमिटर टाढाबाट पानी ल्याउने काम मात्र होइन जनताको घरघरमा विकास र पूर्वाधार निर्माणसँग जोडिएर आकर्षण बटुलेका साङपाङ सामाजिक संजालमा पनि छाइरहने पात्र हुन् ।
प्रदेश १ मा साङपाङले आफूसहित तीन प्रत्यक्ष तर्फ जितेका छन् भने समानुपातिकमा रास्वपा पछि दोस्रो दल बनेर चर्चामा छन् । मुख्यतया उनले पार्टीको झण्डा बनाएनन् । उनको पृथ्वी रहुन्जेलसम्म यो देश रहनु पर्छ । यो माटो रहनु पर्छ भन्ने भनाई हाल सामाजिक संजालमा भाईरल छ । उनको बोल्ने शैली साधारण र सरल भएरपनि हुनसक्छ आमजनताहरु उनको पार्टीमा झुकाव राखेर नै प्रदेश १ मा उनको उपस्थिति बलियो भयो ।
प्रदेश १ का बर्षौदेखि उठेको पहिचानको मुद्दा सम्बोधन गर्ने दलहरु बिच एकता कायम नभएको हालको अवस्थामा निर्वाचन हुँदा उनलाई फाइदा भएको छ । करिब एक लाख भन्दा बढी पहिचानवादी मतदाता रहेको अनुमान गरिएको पहिचानवादीहरुको मत समेत उनको पार्टीलाई गएको विश्लेषण छ ।
प्रदेश नं. १ को नाम कोशी खारेजी आन्दोलन, सांस्कृतिक अतिक्रमण मुक्कुमलुङमा नो केवलकार आन्दोलन पक्षधरहरु समेतले श्रम संस्कृति पार्टीलाई समानुपातिकमा मत हालेको बुझिन्छ । प्रदेश १ को समानुपातिक मत परिणामलाई हेर्ने हो भने पान्थर, इलाम, भोजपुर र खोटाङ्मा पहिलो, उदयपुरमा दोस्रो, ताप्लेजुङ, झापा, सुनसरी, धनकुटा र सोलुखुम्बुमा तेस्रो, मोरङ, तेह्रथुम र संखुवासभामा चौथो र ओखलढुंगामा पाँचौंं स्थानमा रहेर बलियो प्रभाव पारेको छ ।
प्रकृतिको संरक्षण, रोजगार सिर्जना, कृषि र उद्योगमा समुदाय केन्द्रीत कार्यक्रम प्राथमिकतामा राख्ने यो पार्टीको लक्ष्य रहेको छ । श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र मध्ये १०९ जना उम्मेदवार प्रतिस्पर्धामा उतारेको थियो । समानुपातिक तर्फको बन्दसूचीमा ११० जनाकै नाम बुझाएको थियो । प्रत्यक्षमा नउठाईएको क्षेत्रबाट समेत समानुपातिकमा मत पाउनु नयाँ दललाई ठूलो उपलब्धीको रुपमा लिन सकिन्छ ।
नेपाली जनतालाई श्रममा जोडेर लानुपर्छ तब मात्र देश बन्छ भन्ने साङपाङको दृढ संकल्पले देशमा नयाँ पार्टीको उदय भएको संकेत राम्रै मिलेको छ । यद्यपी उनको कार्यशैली विरोध गर्ने शैली र उनको सामाजिक संजालमा तुच्छ बोलीले पनि भविश्यमा यो पार्टीको अवस्था कस्तो होला भन्ने यकिन गर्न नमिल्ने तर्क दिनेहरु पनि प्रसस्त छन् ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ निर्वाचनमा प्रदेश १ का तीन क्षेत्रमा विजयको झण्डा फहराएको छ । अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, ध्रुवराज राई भोजपुर–१ र आरेन राई खोटाङ–१ बाट निर्वाचित भएका छन् । हर्कले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् भने ध्रुवराज १६ हजार ६६३ र आरेन १६ हजार ६१२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
स्थापनाको चार महिनामै प्रतिनिधिसभा निर्वाचनमा होमिएको श्रम संस्कृति पार्टीले आम नागरिकबाट पाएको समर्थनले पूर्वी नेपालमा पुराना दलका गढहरूमा ‘दस्तक’ दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशव्यापी जनलहर आकर्षित गरे पनि श्रम संस्कृति पार्टीले उसलाई पूर्वी नेपालका हिमाली र पहाडी जिल्लाहरूको प्रवेशमा रोक लगाएको छ ।
कोशी प्रदेशका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार मोरङको क्षेत्र नं. ५ मा श्रम संस्कृति पार्टीको उम्मेदवार छैन । २७ निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ उम्मेदवार उठाएको छ ।
ताप्लेजुङमा नेकपा एमालेबाट क्षितिज थेबे १३ हजार ९६२ मत ल्याएर विजयी हुँदा श्रम संस्कृतिका उम्मेदवार सन्तोष राईले पाँच हजार २०९ मत प्राप्त गरेका छन् । रास्वपाका वीरेन्द्र श्रेष्ठ चार हजार १५५ मतमै सीमित भएका छन् ।
पाँचथरमा पनि भर्खरे खुलेको श्रम संस्कृति पार्टीले लामो राजनीतिक विरासत बोकेको कांग्रेसलाई कडा टक्कर दिएको छ । यहाँ कांग्रेस उम्मेदवार नरेन्द्रकुमार केरुङ साढे दुई हजार मतको अन्तरमा मात्रै श्रम संस्कृतिका हस्तराज शेर्मालाई हराउन सफल भए । कांग्रेसका केरुङ १७ हजार २३३ मत ल्याएर निर्वाचित हुँदा श्रम संस्कृतिका शेर्माको पक्षमा १४ हजार ७३४ मत आएको छ । प्रदेश १ कोे तराईमा अस्वाभाविक मत पाएको रास्वपा पहाडी जिल्ला पाँचथरमा कमजोर देखिएको छ ।
यस्तै इलाम–१ मा कांग्रेस उम्मेदवार निश्कल राई १४ हजार ५४३ मत ल्याएर निर्वाचित हुँदा श्रम संस्कृतिका उम्मेदवार विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याएका छन् । यहाँ श्रम संस्कृतिले कडा टक्कर दिएको छ । तेस्रो भएका एमाले उम्मेदवार काजीमान कागतेको ११ हजार ९६६ र रास्वपाका उम्मेदवार विमल गदालको नौ हजार १६० आएको छ ।
इलाम–२ मा एमालेबाट सुहाङ नेम्वाङ २२ हजार ४२६ मतसहित विजयी हुँदा श्रम संस्कृतिका उम्मेदवार सुदीप राई १४ हजार ४०० मत ल्याएर तेस्रो बनेका छन् । चौथो भएका रास्वपाका गोकुलबहादुर राईको पक्षमा ७ हजार ८१४ मत आएको छ भने दोस्रो भएका कांग्रेस उम्मेदवार भेषराज आचार्यले १४ हजार ६५० मत पाएका छन् ।
भोजपुरमा श्रम संस्कृतिका उम्मेदवार ध्रुवराज राई १६ हजार ६६३ मतसहित विजयी भएका छन् । यहाँ रास्वपाका रमेशप्रसाद ओझा ६ हजार १०२ मत ल्याएर पाँचौं स्थानमा सीमित भएका छन् । भोजपुरमा दोस्रो भएका पूर्व मुख्यमन्त्री तथा एमालेका शेरधन राईले १४ हजार ७५० र तेस्रो भएका कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत प्राप्त गरेका छन् ।
खोटाङमा श्रम संस्कृति पार्टीका तर्फबाट आरेन राई विजयी भएका छन् । राईले १६ हजार ६१२ मतसहित संसदीय यात्रा तय गर्दा एमालेका देवविक्रम राई १२ हजार ७१४ मत ल्याएर दोस्रो भएका छन् । कांग्रेस उम्मेदवार वीरकाजी राईको ११ हजार ९७५ ल्याउँदा खोटाङमा रास्वपाका रुद्र गिरी ५७ सय ४ मतसहित पाँचौं भएका छन् ।
यस्तै, धनकुटामा एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ सहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाएका छन् । यहाँ श्रम संस्कृतिका सानबहादुर राई ११ हजार ९३२ मत ल्याएर तेस्रो हुँदा रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४ मा चित्त बुझाउनु परेको छ ।
प्रदेश १ (कोशी)को हिमाली जिल्ला सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की १३ हजार १६६ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका अशिम राईले नौ हजार ४१४ पाएका छन् । सोलुखुम्बुमा पाँचौं भएका श्रम संस्कृतिका वियस राईले ३ हजार ३६३ र रास्वपाका ऋषिधन थुलुङ राईले ३ हजार ६४२ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
संखुवासभामा एमालेका अर्जुनकुमार कार्की १५ हजार ६३६ मतसहित निर्वाचित हुँदा उपविजेता रास्वपा उम्मेदवार मिङमा शेर्पाले १५ हजार मत ल्याएका छन् । तेस्रो भएका कांग्रेसका उम्मेदवार दिपकुकमार श्रेष्ठले १३ हजार २७१ मत पाएका छन् । यहाँ श्रम संस्कृति चौथो भए पनि विभिन्न वामपन्थी दलहरू मिलेर बनेको नेकपाभन्दा राम्रो मत त्याएको छ । संखुवासभामा श्रम संस्कृति पार्टीकी उम्मेदवार उमाकुमारी राईले नौ हजार ८५७ मत ल्याएकी छन् ।
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । दोस्रो भएका एमाले नेता भानुभक्त ढकालले १० हजार ६८२ ल्याएका छन् । हिमाली जिल्ला संखुवासभा जस्तै पहाडी जिल्ला तेह्रथुममा पनि रास्वपा साम्पाङको पार्टीभन्दा अगाडि देखिएको छ । यहाँ रास्वपाका सुरेन्द्र कार्की ७ हजार ७३७ र श्रम संस्कृतिका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत पाएका छन् ।
ओखलढुंगामा भने रास्वपाका उम्मेदवार विश्वराज पोखरेल विजयी हुँदा श्रम संस्कृति पार्टी पाँचौं स्थानमा आएको छ । पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा श्रम संस्कृतिका उद्धवकुमार राई ३ हजार ८५८ मत ल्याएर पाँचौं भएका छन् ।
उदयपुर–१ मा रास्वपालाई श्रम संस्कृति पार्टीले टक्कर दिन नसके पनि सम्मानजनक मत भने पाएको छ । यहाँ रास्वपाका पारशमणी गेलाल ३० हजार ५९० विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृतिका राजेशकुमार राईले ११ हजार ६०६ मत पाएका छन् । नेकपाका बलदेव चौधरीले १० हजार २१ र कांग्रेसका विदुर बस्नेतले नौ हजार ६७५ मत ल्याएका छन् ।
उदयपुर–२ मा रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार ८०२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बरबहादुर रायमाझीले सात हजार ६४८ मत प्राप्त गरेका छन् । उदयपुर–२ मा कांग्रेसका रामकुमार राईले सात हजार २९० मत पाउँदा श्रम संस्कृतिका उम्मेदवार बलराज राईले चार हजार १३९ मतमा चित्त बुझाउनु परेको छ ।
प्रदेश १ का तराईमा पर्ने तीन जिल्ला झापा, मोरङ र सुनसरीका १५ मध्ये १४ वटा निर्वाचन क्षेत्रमा रास्वपाले चुनाव चिह्न घण्टी अंकित झण्डा फहराएको छ । तर निर्वाचन नतिजाले पुराना दलको तुलनामा हर्कको श्रम संस्कृति पार्टीको उपस्थिति राम्रै देखिएको छ ।
झापा–१ रास्वपा उम्मेदवार निशा डाँगी ४५ हजार ६८० मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत पाएका छन् । यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राई १० हजार ४ मत ल्याएर तेस्रो भएका छन् ।
झापा–२ मा इन्दिरा रानामगर ६० हजार ११० मतले विजयी हुँदा दोस्रो भएका एमालेका देवराज घिमिरेले ११ हजार ३६८ पाएका छन् । श्रम संस्कृतिका केशवकुमार भण्डारी सात हजार २९२ तेस्रो हुँदा कांग्रेस उम्मेदवार सरिता प्रसाईंले पाँच हजार ६१६ मत ल्याएकी छन् ।
झापा–३ मा रास्वपाकै प्रकाश पाठक ३८ हजार ६७४ मतसहित विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन १७ हजार २९४ मत ल्याएर दोस्रो भएका छन् । श्रम संस्कृतिका उम्मेदवार दिपक तिम्सिना सात हजार ३३९ मत ल्याएर पाँचौं भए पनि झापा–३ मा नेकपालाई पछि पार्न सफल देखिएका छन् । यहाँ कांग्रेस तेस्रो (८१९९), एमाले चौथो (७३३९) र नेकपा छैटौं (१४५०) भएको छ ।
झापा–४ मा पनि रास्वपाकै शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ पाएका छन् । यहाँ कांग्रेस देउउकुमार थेबेले ९ हजार ४३४ मत ल्याएका छन् । चौथो भएकी श्रम संस्कृति उम्मेदवार अमृतादेवी राई सात हजार १६१ मत ल्याउन सफल देखिएकी छन् ।
झापा–५ रास्वपाका बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मत ल्याएर विजयी भएका छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । ओली १८ हजार ७३४ मत ल्याएर दोस्रो स्थानमा रहँदा तेस्रो भएको श्रम संस्कृतिका उम्मेदवार समिर तामाङले ९ हजार २३३ मत पाएका छन् । यहाँ कांग्रेस श्रम संस्कृतिभन्दा पछि परेको छ । कांग्रेस उम्मेदवार मन्धरा चिमरियाले १ हजार ८२१ मत ल्याएकी छन् ।
मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले १७ हजार ५५२ ल्याएकी छन् । कांग्रेस उम्मेदवार खड्गबहादुर फागो ११ हजार ९८७ मत पाएर तेस्रो र एमालेका घनश्याम खतिवडा ९ हजार ८२६ मतसहित चौथो बनेका छन् ।
मोरङ–२ मा भने श्रम संस्कृति पार्टीका उपस्थिति कमजोर देखिएको छ । यहाँ उसका उम्मेदवार अबुहो रैरहले मात्र १ हजार ८ सय २२ मत ल्याएका छन् । यहाँ रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतसहित विजयी भएका छन् ।
मोरङ–३ मा रास्वपाकै गणेश कार्की ३६ हजार ९२४ मतले विजयी भएका छन् । कांग्रेसका सुनिलकुमार शर्मा २४ हजार ३४५ ल्याउँदा श्रम संस्कृतिका अमिर मगरले १६ हजार ५०९ मतसहित तेस्रो भएका छन् ।
मोरङ–४ मा रास्वपाकै सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत पाएका छन् । यहाँ पनि श्रम संस्कृति पार्टीको उपस्थिति कमजोर देखिएको छ । उसका उम्मेदवार कृष्णकुमार अटल १ हजार १ मतसहित छैटौं भएका छन् ।
मोरङ–५ ले ३० हजार ४३४ मतसहित रास्वपा उम्मेदवार आशा झालाई निर्वाचित गरेको छ । यो क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ उम्मेदवार दिएको थिएन ।
मोरङ–६ मा कांग्रेस नेता डा. शेखर कोइरालालाई फराकिलो मतान्तरले हराउँदै रास्वपाबाट रुविना आचार्य विजयी भएकी छन् । रुविना ५५ हजार ५१३ सहित विजयी हुँदा कोइरालाले १२ हजार ८५० मत पाएका छन् । मोरङ–६ मा श्रम संस्कृति पार्टी पुरानो दल नेकपाभन्दा बलियो देखिएको छ । यहाँ श्रम संस्कृतिका मातृका पौडेल ३ हजार ४०० मत ल्याउँदा नेकपाले १ हजार ७१६ मत पाएको छ ।
सुनसरी–१ बाट भने श्रम संस्कृति पार्टीका संस्थापक हर्क साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रास्वपालाई ८ हजार बढी मतले पछि पारेका छन् । हर्क ३५ हजार ७४१ मतसहित निर्वाचित हुँदा रास्वपाकी गोमा तामाङले २७ हजार २४९ पाएकी छन् । एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३ र कांग्रेसका सुजेन्द्र तामाङले तीन हजार ९७० मत ल्याएका छन् ।
सुनसरी–२ मा कांग्रेस उम्मेदवार राजीव कोइरालालाई हराउँदै रास्वपाका लालविक्रम थापा विजयी भएका छन् । उनले ५७ हजार ३४८ र कोइरालाले १६ हजार ७१ मत पाएका छन् । यहाँ श्रम संस्कृतिका चेतन राईले ७ हजार ४८४ र एमालेका सुजन लामाले ८ हजार ३०३ मत पाएको आयोगको तथ्यांकले देखाएको छ ।
सुनसरी–३ मा पनि रास्वपाकै अशोककुमार चौधरी ४७ हजार ४२१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता विजयकुमार गच्छदारले २० हजार ५०१ मत पाएका छन् । तेस्रो भएको एमालेकी भगवती चौधरीले १५ हजार ८३ ल्याएकी छन् । यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार रामप्रसाद सदाले १ हजार ७८० मत मात्रै पाएका छन् ।
सुनसरी–४ मा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै रास्वपाका दीपककुमार साह विजयी भएका छन् । उनी ४२ हजार ७७१ मत ल्याएर विजयी हुँदा कार्कीको पक्षमा १६ हजार ५८७ मत आएको छ । यहाँ श्रम संस्कृतिका उम्मेदवार विष्णु राना २ हजार ७६३ मतसहित पाँचौं भएका छन् । तेस्रो भएका एमालेका उम्मेदवार जगदीशकुमार कुसियैतले ८ हजार ६३१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
कलाकार बन्ने हुटहुटी भएका हर्क साङ्पाङेले २०६४ सालमा आफ्नै शब्दमा ‘मिसिङ हर्ट’ नामको लोक आधुनिक म्युजिक एल्बम समेत निकालेका थिए । तर, उनी साङ्गीतिक बजारमा जम्न सकेनन् । राजनीतिशास्त्र र अंग्रेजी विषयमा स्नातोकत्तर गरेको साङ्पाङ् त्यसपछि कहिले धरानका भाषा सेन्टरमा अंग्रेजीका शिक्षक बने त कहिले वैदेशिक रोजगारीका लागि इराकदेखि अफगानिस्तानसम्म पुगे थिए ।
उनको पृष्ठभूमि विद्रोही र जिद्दी स्वभावका भएको हुँदा आफ्नो उपनाम नै ‘क्रान्ति’ राखेका थिए । वैदेशिक रोजगारबाट फर्केपछि विद्रोही स्वभावलाई मुखरित गर्न समाजमा देखिएका बेथितिविरुद्ध धरानको सडक र गल्लीहरुमा एक्लै आन्दोलन गर्न थाले ।
नेपालमा गणतन्त्र स्थापनापछि भएको पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा धरान उपमहानगरको स्वतन्त्र उम्मेदवार बनेर भोट मागेर चर्चा बलुटेका उनी दोस्रो स्थानीय तहको निर्वाचन २०७९ मा असन्तुष्ट धराने जनताले उनको विद्रोही आवाजलाई साथ दिए । यसैको नतिजामा उनी नेपाल फर्किएको तीन वर्षमै धरानको मेयर बन्न सफल भएका थिए ।
यसरी हर्कको यात्रा प्रतिनिधिसभासम्म पुगेको छ । अब उनले रोजेको माटोको परिक्षण कस्तो होला त्यो हेर्न बाँकी नै छ भने पूर्वबाट उदाएको हर्कवाद कति फलिफाप होला त्यो भने हर्क बाँकी नै छ ।