ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् ।
केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् । उनी हाल ७८ वर्षका छन् ।
ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट सपथ लिएपछि भोली चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।
प्रतिनिधिसभा निर्वाचनमा दुई सय ७५ जना निर्वाचित भएका छन् । जसमध्ये प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ जाना र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना संसद निर्वाचित भएका छन् ।