मुक्कुमलुङ नामाकरण नभए जस्तोसुकै आन्दोलन गर्ने जसपाको उद्घोष

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १९ चैत्र । राज्यले लिम्बू समुदायको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङलाई अतिक्रमण गरी पाथिभरा कायम गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)नेपाल आन्दोलन गर्ने उद्घोष गरेको छ ।

जसपा नेपाल प्रदेश समितिका अध्यक्ष प्रवीण चाम्लिङले बुधबार विज्ञप्ति जारी गर्दै मुक्कुमलुङलाई मौलिक मुन्धुमी आधारमै नामाकरण गर्न माग गरेका हुन् । सरकारले आदिवासी जनजातिको सांस्कृतिक पहिचानमाथि अतिक्रमण गरेसँगै जसपा आन्दोलित भएको छ । यसअघि खुवालुङमा क्रेन लगाउने प्रधानमन्त्रीको अभिव्यक्तिको समेत कडा टिप्पणी गरेको जसपा प्रदेश १ ले मुक्कुमलुङको मौलिक नाम परिवर्तन गरी पाथिभरा राखिएको विरोधमा आन्दोलनको संकेत दिएको हो ।

पाथिभरा दर्शन केबुलकार प्रा.लि. ले आउँदो वैशाख ११ गते केबुलकार सेवाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउन लागेको समाचार आए लगत्तै जसपा नेपाल प्रदेश १ समितिको यस्तो धारणा आएको हो ।

मुक्कुमलुङको अस्तित्व समाप्त पार्ने गम्भीर षड्यन्त्र भइरहेको भन्दै विज्ञप्तिमा लिम्बू जातिको मुन्धुम र संस्कृतिसँग जोडिएको यस्ता पुरातात्विक र ऐतिहासिक सम्पदालाई राज्यले संरक्षण गर्नुपर्नेमा उल्टै नामेट पार्न खोज्नु निन्दनीय कार्य भएको उल्लेख छ । मुक्कुमलुङमाथिको प्रहार कालान्तरमा लिम्बू समुदायलाई निमिट्यान्न पार्न रचिएको चक्रव्यूह भएको उसको ठहर छ ।

जारी विज्ञप्तिमा भनिएको छ –‘कथित पाथिभरा नाम, पाथिभरा क्षेत्र विकास समिति गठन आदेश २०५३, सो आदेशबाट गठित पाथिभरा विकास समिति समेत तत्काल खारेज गरेर लिम्बू समुदायका मुन्धुमविद्, लिम्बू (याक्थुङ) संस्कृति विज्ञहरु, सरोकारवालाहरुको सहभागिता र नेतृत्वमा ‘मुक्कुमलुङ संरक्षण तथा विकास समिति’ गठन गरी मुक्कुमलुङको मुन्धुमी मौलिकताको जगेर्ना हुने विकासका कार्यहरु अघि बढाउन नेपाल सरकार, प्रदेश नं १ सरकार र स्थानीय तहहरु समक्ष माग गर्दछौं ।’

लिम्बू समुदायको धर्म, संस्कृति, ऐतिहासिकता आधुनिक नेपाल निर्माण हुनु भन्दा अघिदेखिको भएको ठहर गर्दै जसपा नेपालले लिम्बुवान भूमि र लिम्बू समुदायसँग जोडिएका हरेक पक्षहरुको उचित संरक्षण गर्ने जिम्मेवारी नेपाल सरकारको भएको जनाएको छ । विज्ञप्तिमा २०७४ कार्तिक ८ मा सर्वोच्च अदालतबाट लिम्बू जातिको साँस्कृतिक पक्षहरुको संरक्षण सम्बन्धी जारी भएको परमादेशको वाक्याशं समेत उल्लेख गर्दै मुक्कुमलुङको संरक्षणमा राज्यलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।

केबुलकार सञ्चालनको नाउँमा प्राकृतिक वन क्षेत्र ध्वस्त पारि ११ हजार भन्दा बढी रुखबिरुवा काट्न लागेको र काफ्लेपाटीमा पाथिभरा दर्शन केबुलकार सेवा प्र.लि.का नाउँमा त्यस क्षेत्रका सोझा निमुखा लिम्बुहरुको सस्तो मुल्यमा जग्गा खरिद गर्दा करोडौं आर्थिक चलखेल भएको आरोप समेत विज्ञप्तिमा लगाइएको छ ।

हालको ताप्लेजुङ जिल्लास्थित फुङलिङ नगरपालिका वडा नम्बर १० र ११, फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ र ५ तथा सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ को केन्द्रविन्दुमा अवस्थित मुक्कमुलुङलाई लिम्बू सदमुदायले सेमुक्तिकोक् र सेमुक्तुबुङ पनि भन्ने गर्दछन् । मुक्कुमलुङलाई लिम्बू समुदायले शक्तिको प्रतीक मान्दछन् भने युमा माङ्ले पदार्पण गरेको हुनाले यो ठाउँ पवित्र भएको विश्वास गर्दछन् ।

यसैगरी मुक्कुमलुङ नामकरणको पक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंच तथा संघीय लिम्बुवान मंचले समेत निरन्तर आन्दोलन गरिरहेको ताप्लेजुङका युवा नेता मुक्साम लाबुङले बताए । ताप्लेजुङमा मुक्कुमलुङ संरक्षण आन्दोलन संघर्ष समिति नै बनाएर सबै राजनीतिक दल, धार्मिक संस्था र जातीय संघ संस्थाहरु एकजुट भइ अगाडि बढिरहेको उनले जनाएका छ ।

हर्नुहोस् विज्ञप्ति जस्ताको त्यस्तै:

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...