लिम्बुवानखबर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मबाट निर्मित कोरोनाविरुद्धको भ्याक्सिनलाई आपतकालीन रुपमा तत्काल प्रयोगमा ल्याउन अनुमति दिएको जनाएको छ ।
डब्ल्यूएचओले यो खोपलाई अनुमति दिन अगावै नै ४ वटा खोपहरु फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो ।
चिनीयाँ कम्पनी सिनोफार्मले आफुले बनाएको खोप यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । त्यस्तै यो खोप अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् ।
डब्ल्यूएचओले शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने बीबीसीले जनाएको छ । यो खोप दुई डोज लगाउने पर्ने पनि जनाइएको छ ।
डब्ल्यूएचओले अर्को चिनियाँ कम्पनी सिनोभ्याकको खोपमा पनि आगामी दिनमा अनुमति दिने निर्णय लिने सम्भावना छ । यस्तै रुसी खोप स्पुतनिक भी को मूल्यांकन पनि डब्ल्यूएचओले गर्दै आएको बीबीसीले उल्लेख गरेको छ ।