पत्रकार महासंघ झापाद्वारा पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सक परामर्श विषयक भर्चुअल कार्यक्रमको आयोजना

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, वैशाख २६। कोरोनाबाट बच्न र बचाउन ‘पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको परामर्श’ विषयक भर्चुअल अन्तर संवाद कार्यक्रम नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आज सम्पन्न भएको छ ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघ १ नं. प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरेको प्रमुख आतिथ्य रहेको अन्तरसंवादमा विशेषज्ञ चिकित्सक डा. गोविन्द कँडेलले परामर्शका साथै पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

कोरोना भाइरसबाट संक्रमित भई हाल आइसोलेसनमा बसेका, यसअघि संक्रमित भई स्वास्थ्यलाभ गरेकासहित देश–विदेशबाट कार्यक्रममा पत्रकारहरुले सहभागिता जनाएका थिए ।

भरतपुर अस्पताल चितवनका वरिष्ठ कन्सलटेन्ट जनरल फिजिसियन डा. कँडेलले संक्रमित पत्रकारले आइसोलेसनमा बस्दा गर्नुपर्ने कार्य तथा अन्य पत्रकारले रिपोर्टिङमा जाँदा, घर आउँदा र अन्य समयमा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा परामर्श दिएका थिए ।

‘अर्को रोग हो भन्ने पत्ता नलागेसम्म हरेक रुघाखोकी, ज्वरो, शरीरको दुखाई कोभिड हो’– डा. कँडेलले भने– ‘यस्तो लक्षण देखिएमा तत्काल पीसीआर परीक्षण गर्नुहोस्, त्यसबाट कोभिड हो–होइन थहा भएपछि आफू, आफ्नो परिवार र समाजलाई बचाउन सकिन्छ ।’

कोरोनाको दोस्रो भेरियन्ट बढी संक्रामक भएको भन्दै डाक्टर कँडेलले घर बाहिर निस्कदा कोही साथीभाइ भेट भई हालेसंगै बसेर चिया नास्ता नखान सुझाए । खाने वहानामा मास्क खोल्ने र खाने चलन रहेको जसले गर्दा संक्रमण सजिलै फैलने भन्दै डा. कडेलले घर बाहिर निस्कदा चिया नास्ता खाने बानी हटाउन सुझाए । कुनै लक्षण देखिए वा शंका लागे तत्काल पीसीआर परीक्षण गर्न सुझाएका डा. कँडेलले संक्रमितहरुलाई मनोबल उच्च राख्न, शारीरिक व्यायाम, अध्ययन लगायतका कार्यबाट आफूलाई व्यस्त राख्न र रुची हुने, पचाउन सकिने सबै खाले खानेकुरा खान सकिने सल्लाह दिए । पहिलो पीसीआर गरेको १४ दिन पछि पनि रिपोर्ट पोजेटिभ आए डराउनु नपर्ने, सामान्य दैनिकीमा फर्कन सकिने उनले बताए । १४ दिन बितेपछि पीसीआर गर्न नपर्ने, त्यो व्यक्तिले संक्रमण सार्न नसक्ने डा. कडेलको भनाइ छ । तर कोरोना खोप लगाएको व्यक्ति आफू सुरक्षित भए पनि उसले अरुलाई भाइरस सार्ने संभावना चाहि हुने भएकाले व्यक्ति व्यक्ति वीचको भौतिक दुरी महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि महासंघ १ नं. प्रदेशका घिमिरेले महामारीको समयमा महासंघको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै झापा शाखाले गरेको कामको प्रशंसा गरे । अन्तरसंवादमा हाल होम आइसोलेसनमा रहेका पत्रकारहरु भीमा शिवाकोटी, पुष्प बराल, राजु अधिकारी, वीरबहादुर दर्नाल, गौरव पोखरेलले आफ्ना भोगाइ, परेको समस्यासहित जिज्ञासा राखेका थिए ।

त्यस्तै पत्रकारहरु राजेन्द्र गौतम, अनिल वाग्ले, आत्माराम राजवंशी, जीआर धिताल, धर्मेन्द्र मामा, लक्ष्मी उप्रेती, उमानाथ भण्डारी तथा पुनम प्रधान, कमल न्यौपाने, सुमन सिंह पौडेल लगायतले पनि जिज्ञासा राखेका थिए ।

उपाध्यक्ष केशव भट्टराईले स्वागत र अर्का उपाध्यक्ष सुशीला संग्रौलाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

कार्यक्रममा महासंघ १ नं. प्रदेशकी उपाध्यक्ष हिमा चेम्जोङ, महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम, खोटाङका अध्यक्ष दिलीप दाहाल, युएई शाखाका सहसचिव रामप्रसाद ढुंगेल, महासंघ प्रदेश समिति सदस्य लीलाराज झापाली, फोनिज १ नं. प्रदेशका इञ्चार्ज दिपीन राई, प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष कमन देवान, फोनिज झापाका पूर्व अध्यक्ष गणेशमान मुखिया, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, संघीय पत्रकार मञ्च नेपालका संयोजक दिलकुमार लावती, नारी सञ्चारगृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, शिक्षा पत्रकार समूह प्रदेश नं. १ की संयोजक राधा खनालसहित इलाम, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा लगायतका जिल्लाबाट समेत कार्यक्रममा सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...