काठमाडौं । आज राष्ट्रियसभामा रिक्त एक पदका लागि वागमती प्रदेशमा उपनिर्वाचन हुँदैछ । प्रदेशको अन्य समूहतर्फ रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) छन् भने विरुद्धमा संयुक्त गठबन्धन बनाई एमालेका माधव–झलनाथ समूहका खिमलाल देवकोटा रहेका छन् । त्यसैगरी नेमकिपाका कृष्णबहादुर तामाङको पनि उम्मेद्वारी रहेको छ ।
बादललाई एमालेको साविकको सूर्य चुनाव चिन्ह नै निर्वाचन चिन्ह प्रदान गरिएको छ भने देवकोटाले कलम चुनाव चिन्हबाट चुनाव लड्दैछन् । संघीयताविज्ञ रुपमा परिचित देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमाले माधव–झलनाथ समूहको समर्थन रहेको छ । मुख्य प्रतिस्पर्धी भने बादल बिरुद्ध देवकोटा नै हुन् । यी दुवै नेकपा एमालेका भएकाले निर्वाचन परिणामलाई निक्कै चासोका साथ हेरिएको छ ।
कुनै प्राविधिक त्रुटि नआएमा आजै मतपरिणाम आउन सक्ने निर्वाचन आयोगकले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् । वागमती प्रदेशका प्रदेश सदस्य ११० जना, १३ वटा जिल्लाका ११९ स्थानीय तहका २३८ जना प्रमुख उपप्रमुखहरुले मतदान गर्नेछन् । जम्मा ३४८ मतदाता रहेको हुँदा गणना गर्न धेरै समय नलाग्ने आयोगले जनाएको छ ।
मकवानपुरको हेटौडास्थित भुटनदेवी माविमा विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्ममा मतदान सकिने छ । भोट खसाल्न तीनवटा बुथ राखिएको छ । (क) मा प्रदेशसभा सदस्यहरु, (ख) मा स्थानीय तहका प्रमुख र उप्रमुखहरु र (ग) मा कोरोना भाइरसबाट संक्रमित सबैको लागि व्यवस्था गरिएको छ ।
यस्तैगरी राष्ट्रियसभामा रिक्त अर्को एक पदका लागि लुम्बिनी प्रदेशमा यही जेठ १७ गते उपनिर्वाचन हुँदैछ । त्यहाँ नेकपा (एमाले)का तर्फबाट चन्द्रबहादुर खड्का र गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे प्रतिस्पर्धामा छन् ।