––––––––––– अस्तित्व हत्या ––––––––––––

 लिम्बुवान न्युज
                       

कविता

  • पुष्पहाङ लोवा 

चिच्याइरहेको छ मेरो अस्तित्व
आफ्नो पोटिला स्तनहरू माथि वर्जित
निर्दयी बुटहरू सामना गर्दै
म मुकदर्शक उभिएको छु – बुख्याँचा ।

बलात्कृत हुन्छ हरेक साँझ
गर्जाउँछ चिच्याहट मेघ नसहेर पीडाहरू
विवश ! डुबेर आँसुमा
सुम्पन्छ आफ्नै कुमारीत्व,
यी दर्दनाक श्रब्य–दृष्यहरूले
पगाल्दैन ढुङ्गा मन
छुँदैन अन्धो आँखा र बहिरो कान
किन कि म ह्याङ् भइसकेको छु भाइरसले ।

आफ्नै आँखा सामु
फाँसीको तक्तामा तुर्लुङ्ग झुन्ड्याइएको
बलात्करणले बेहोस
मेरो अस्तित्वको साँछी वक्न नसकेर
आज मृत्योल्लासमा
मानौं एउटा पिक्निक् स्पोट झैं
र्यापर भएर ब्रेकडान्स गरिरहेछु ।

न चढाउन सक्छु श्रद्धाको एक थुङ्गा फूल
अस्तित्वको पार्थिव शरीर माथि
न चढाउन सक्छु समवेदनाको एक चिम्टी मट्टी
अस्तित्वको चिहान माथि
बित्थामा मलामीको माला भित्र उनिएर
“म“ भन्नुको निरर्थकता वीच बाँचेको छु ।

अर्को शताब्दीको एउटा मिथक म
डाइनोसर कि त सोक्पा जस्तै
अब
यसरी अलापिन्दै छु म
अनाकन्टार मानव जङ्गल भित्र
आफैंले आफैंलाई कहिल्यै पाउने छैन
उत्खनन गरेर भेट्ने छैन मेरो जरा
कुनै मानवशास्त्रीले,
मेरो सातो हंस पत्ता लगाउने छैन
काँसे थालमा लडाएर अक्षता कुनै फेदाङमाले
म जुनसुकै सुकेको थाँक्रा र मक्किएको रूखमा पनि विलोपिन सक्छु
जुनसुकै यामको शीतमा पनि विलीन सक्छु
किन कि
इतिहासको कठघरामा उभिएर
वक्ने कुनै मेरो बयानै छैन
भविष्यको इजलासमा उभिएर
देखाउने कुनै मेरो नजरै छैन
यसरी म स्वयं संलग्न छु
आफ्नै अस्तित्व हत्या प्रकरणमा ।

            दमक, झापा

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...