७ जेठ, काठमाडौं । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर फर्किएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतल निवास पुगेका छन् ।
देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम–उपेन्द्र पक्षका सांसदले समर्थन गरेका छन् ।
यसैगरी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन् । आफ्नो दलको १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित ओलीले दावी पेश गरेका हुन् । उक्तदावीमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेर आजै प्रधानमन्त्री नियुक्ति बारे निर्णय लिन सक्ने शीतलनिवास पुगेकामा मध्ये एक नेताले बताएका छन् ।