दमक। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा किरातीहरुको आस्थाको केन्द्र खुवालुङ भत्काउने, आदिवासी रङ्गाशालालाई नामेट गर्दै मदन भण्डारीका नाउँमा वन विनाश गर्ने र सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी राख्ने निर्णय गरेको भन्दै जनता समाजवादी पार्टी नेपाल प्रदेश नं १ समितिले विरोध जनाएको छ । आज जसपा नेपाल प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति जारी गरेर सरकारको सो कदमको विरोध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ –‘काइते भाषा प्रयोग गरिए पनि यसले पुनः प्रधानमन्त्री ओलीले गत २०७७ फागुन ८ गते बिराटनगरमा आयोजित एमालेको आमसभाबाट किरातीहरुको मुन्धुमी आस्थाको केन्द्र खुवालुङलाई क्रेन लगाएर भत्काउने भनी दिएको अभिव्यक्तिलाई नै कार्यान्वयन गर्न खोजिएको प्रष्ट हुन्छ । ओली सत्ताको यस प्रयासलाई जुनसुकै मूल्यमा पनि सफल हुन नदिने कुरा यसै विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौं ।’
‘रविन्द्र अधिकारी र आङछिरिङ शेर्पाले सुकेटार विमानस्थल र चुहानडाँडा विमानस्थलको लागि कुनै योगदान नरहेको भन्दै विज्ञप्तिमा हेलिकप्टरमा दुर्घटना भएको भन्दैमा मनोमानी तवरले गरिएको यो निर्णय तत्काल फिर्ता लिन र सुकेटार विमानस्थल र निर्माणाधीन चुहानडाँडा विमानस्थलको नाम यथावत कायम गर्न माग गर्दछौं’– विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै जारी विज्ञप्तिमा आदिवासी रङ्गाशाला निर्माण गर्ने सहमति बमोजिम किरातीहरुले पुर्खाको चिहान भत्काउन राजी भएको र पछि ओलीले राजनीतिक बेइमानी गरेर मदन भण्डारी नामाकरण गरिएको भन्दै साविककै स्थानमा आदिवासी रङ्गाशाला निर्माण गर्न जोड दिइएको छ ।
जसपा प्रदेश १ ले संसद् बिघटन गरेर अध्यादेशबाट बजेट ल्याइएकोमा उक्त कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै निन्दा र भत्र्सना गरेको छ । बजेट भाषण नेकपा एमालेको चुनावी घोषणा–पत्र झैं ओली सत्ताको महत्वकांक्षी र पार्टीका नेता कार्यकर्ता लक्षित नीति कार्यक्रमहरु प्रस्तुत भएको टिप्पणी गर्दै जसपाले यसलाई सत्ता कब्जाको संकेत भनेको छ ।
आगामी दिनमा ओली सर्वसत्तावादका विरुद्ध हुने संघर्ष र प्रतिरोधका लागि सबै एकजुट भएर उत्रन पार्टी मातहतका समिति, कार्यकर्ता र जनवर्गीय संगठनहरुलाई निर्देशसमेत गरेको छ ।

