लिम्बुवानखबर। लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभाको एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।
जम्मा २९६ मत खसेकाेमा पाण्डेयले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ पनि १ मत बदर भएको छ । पाण्डेयले ४,१४० मतभार प्राप्त गरे भने प्रतिद्वन्दी खड्काले ३,६१२ मतभार प्राप्त गरे ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदान पश्चात लगत्तै मतगणना गरेर अन्तिम नतिजा घोषणा गरिएको थियो ।
निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता भएपनि २९६ मत खसेको हो । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुन्छ । विजयी पाण्डेयलाई माओवादी, जसपा र जनमोर्चाको समेत समर्थन रहेको थियो ।
यसअघि बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई कांग्रेस, माओवादी, जसपा गठबन्धनका स्वतन्त्र उम्मेदार खिमलाल देवकोटाले पराजित गरेका थिए । यससँगै उपनिर्वाचनबाट एमालेलाई ठूलो झड्का लागेको विश्लेषकहरुले बताएका छन् ।