काउन्सिलले थाल्यो ‘न्युज रुम’मा रचनात्मक पत्रकारिताको अभियान

 लिम्बुवान न्युज
                       

काठमाडाैं, २४ वैशाख । प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान  थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको बहस अघि बढाउने निर्णय गरेको थियो । सो अभियानको सुरुवात मङ्गलबार गोरखापत्र संस्थानबाट गरिएको हो । संस्थानले बुधबार एक सय २५ औँ वार्षिकोत्सव मनाउँदै छ ।
सो अवसरमा विभिन्न कार्यक्रम भइरहँदा मङ्गलबार प्रेस काउन्सिल नेपाल र गोरखापत्र संस्थानले  ‘रचनात्मक एवं समाधानमुखी पत्रकारिताको बाटो’ विषयक विशेष  कार्यक्रम आयोजना गरेको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले केही हुँदैन भन्ने गलत भाष्य हटाइ  आशाको सञ्चार गर्न सञ्चारकर्मीको विशेष भूमिका हुने बताउनुभयो ।
गोरखापत्र  नेपालको पत्रकारिताको  मानक भएकाले यहीँबाट ‘न्युज रुम’ मा रचनात्मक र समाधानमुखी पत्रकारिताको बहसको सुरुवात गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनमानसमा कुनै बेला  पत्रिका भनेको गोरखापत्र नै हो भनेर  बुझिन्थ्यो । दक्षिण एसियाकै पुरानो सञ्चार संस्थामा पर्ने यसका प्रकाशन मार्फत रचनात्मक पत्रकारिताको अभियानलाई  जोडिएको हो।”
वार्षिकोत्सवलाई कसरी रचनात्मक बनाउने भन्ने सन्दर्भमा  एक सय २५ वर्षको गोरखापत्रको इतिहासमा यो पटक फरक खालको कार्यक्रम भएको अध्यक्ष बस्नेतले बताउनुभयो । सन् ६० को दशकदेखि रचनात्मक पत्रकारिता  कुनै न कुनै तवरले आएपनि नेपालमा फाट्टफुट मात्रै यसको प्रयोग भएको उहाँले बताउनुभयो । अहिले मूलधारको पत्रकारितामाथि चुनौती रहेकाले मिडिया बचाउनुपर्ने, संस्थागत र विश्वासनीय बनाउनुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस काउन्सिल नेपालले विज्ञसँगको छलफल र सम्पादक संवादपछि अहिलेको पत्रकारिताको धार बढी सिर्जनात्मक र रचनात्मक बनाउन सकिएन भने पत्रकारितामाथि प्रश्न उठिरहने देखिएको छ ।”
अहिले काउन्सिलले ‘न्युज रुम’ मा जाने र त्यहाँको रचनात्मक पत्रकारिताको  अभ्यास बुझ्ने र त्यसलाई बढुवा दिन ‘न्युज रुम’, राज्य, सम्पादक र व्यवस्थापनले के गर्नुपर्छ भनेर काउन्सिल केन्द्रमा बसेर बहस सिर्जना गरिरहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र संस्थानका प्रकाशनमा भइरहेको रचनात्मक पत्रकारिताको प्रयोगबारे काउन्सिलको हलमा अरू पत्रकार बोलाएर छलफल गर्न पाइयोस भन्ने काउन्सिलले चाहेको उहाँले बताउनुभयो ।
रचनात्मक पत्रकारितामा कुनै पनि पक्षलाई गाली नभएर सृजनात्मक  रूपमा विशेष खोज र अध्ययन गरेर समाधान दिइनुपर्ने उहाँले बताउनुभयो ।
गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले रचनात्मक पत्रकारिता वा विकास पत्रकारिता जे भनिएपनि अबको पत्रकारिताले समस्या मात्रै उजागर गर्ने नभएर समाधानको खोजी गर्नुपर्ने बताउनुभयो । गोरखापत्र विरासत र साधनस्रोतका हिसाबले अरू सञ्चारमाध्यमभन्दा समृद्ध भएको उहाँले बताउनुभयो । गोरखापत्रले सुधारका लागि कार्ययोजनसहित अघि बढीरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संस्थानले गरिरहेको सुधारको प्रयत्न गोरखापत्र, द राइजिङ नेपाल र यहाँका अरू प्रकाशनमा पढ्न पाइन्छ ।”
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारितामा विश्वास कायम राख्नका लागि पनि समाधानमुखी पत्रकारिताको महत्व रहेको बताउनुभयो । अहिलेको समाजको अपेक्षाअनुसारको पत्रकारिता भइरहेको छ छैन भनेर समीक्षा गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गोरखापत्र जेठो र पुरानो अखबार भएपनि यसले पनि समाजले खाजेको विषय समाचारमा पस्कन नेतृत्वदायी भूमिका निभाइरहन निरन्तर छलफल आवश्यक छ ।”
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले निरन्तररूपमा रचनात्मक पत्रकारिताको छलफल अघि बढाइरहेको बताउनुभयो । पत्रकारिताको पाठ्यक्रममा नै यसलाई समेट्न पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । काउन्सिलले सञ्चारमाध्यममा रचनात्मक पत्रकारिताका सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराइले काउन्सिलले गोरखापत्रले रचनात्मक पत्रकारिताको नेतृत्व गर्नसक्छ भनेर सोच्नु संस्थानका लागि महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मिडिया अनुसन्धानकर्ता टुमराज कोइरालाले रचनात्मक पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत भुसालले गर्नुभएको थियो । सो कार्यक्रममा संस्थानका विभिन्न प्रकाशन, अनलाइनका सम्पादक र समाचारदातालगायगको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;