काउन्सिलले थाल्यो ‘न्युज रुम’मा रचनात्मक पत्रकारिताको अभियान

 लिम्बुवान न्युज
                       

काठमाडाैं, २४ वैशाख । प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको अभियान  थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्युज रुम’ मा रचनात्मक पत्रकारिताको बहस अघि बढाउने निर्णय गरेको थियो । सो अभियानको सुरुवात मङ्गलबार गोरखापत्र संस्थानबाट गरिएको हो । संस्थानले बुधबार एक सय २५ औँ वार्षिकोत्सव मनाउँदै छ ।
सो अवसरमा विभिन्न कार्यक्रम भइरहँदा मङ्गलबार प्रेस काउन्सिल नेपाल र गोरखापत्र संस्थानले  ‘रचनात्मक एवं समाधानमुखी पत्रकारिताको बाटो’ विषयक विशेष  कार्यक्रम आयोजना गरेको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले केही हुँदैन भन्ने गलत भाष्य हटाइ  आशाको सञ्चार गर्न सञ्चारकर्मीको विशेष भूमिका हुने बताउनुभयो ।
गोरखापत्र  नेपालको पत्रकारिताको  मानक भएकाले यहीँबाट ‘न्युज रुम’ मा रचनात्मक र समाधानमुखी पत्रकारिताको बहसको सुरुवात गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनमानसमा कुनै बेला  पत्रिका भनेको गोरखापत्र नै हो भनेर  बुझिन्थ्यो । दक्षिण एसियाकै पुरानो सञ्चार संस्थामा पर्ने यसका प्रकाशन मार्फत रचनात्मक पत्रकारिताको अभियानलाई  जोडिएको हो।”
वार्षिकोत्सवलाई कसरी रचनात्मक बनाउने भन्ने सन्दर्भमा  एक सय २५ वर्षको गोरखापत्रको इतिहासमा यो पटक फरक खालको कार्यक्रम भएको अध्यक्ष बस्नेतले बताउनुभयो । सन् ६० को दशकदेखि रचनात्मक पत्रकारिता  कुनै न कुनै तवरले आएपनि नेपालमा फाट्टफुट मात्रै यसको प्रयोग भएको उहाँले बताउनुभयो । अहिले मूलधारको पत्रकारितामाथि चुनौती रहेकाले मिडिया बचाउनुपर्ने, संस्थागत र विश्वासनीय बनाउनुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस काउन्सिल नेपालले विज्ञसँगको छलफल र सम्पादक संवादपछि अहिलेको पत्रकारिताको धार बढी सिर्जनात्मक र रचनात्मक बनाउन सकिएन भने पत्रकारितामाथि प्रश्न उठिरहने देखिएको छ ।”
अहिले काउन्सिलले ‘न्युज रुम’ मा जाने र त्यहाँको रचनात्मक पत्रकारिताको  अभ्यास बुझ्ने र त्यसलाई बढुवा दिन ‘न्युज रुम’, राज्य, सम्पादक र व्यवस्थापनले के गर्नुपर्छ भनेर काउन्सिल केन्द्रमा बसेर बहस सिर्जना गरिरहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र संस्थानका प्रकाशनमा भइरहेको रचनात्मक पत्रकारिताको प्रयोगबारे काउन्सिलको हलमा अरू पत्रकार बोलाएर छलफल गर्न पाइयोस भन्ने काउन्सिलले चाहेको उहाँले बताउनुभयो ।
रचनात्मक पत्रकारितामा कुनै पनि पक्षलाई गाली नभएर सृजनात्मक  रूपमा विशेष खोज र अध्ययन गरेर समाधान दिइनुपर्ने उहाँले बताउनुभयो ।
गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले रचनात्मक पत्रकारिता वा विकास पत्रकारिता जे भनिएपनि अबको पत्रकारिताले समस्या मात्रै उजागर गर्ने नभएर समाधानको खोजी गर्नुपर्ने बताउनुभयो । गोरखापत्र विरासत र साधनस्रोतका हिसाबले अरू सञ्चारमाध्यमभन्दा समृद्ध भएको उहाँले बताउनुभयो । गोरखापत्रले सुधारका लागि कार्ययोजनसहित अघि बढीरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संस्थानले गरिरहेको सुधारको प्रयत्न गोरखापत्र, द राइजिङ नेपाल र यहाँका अरू प्रकाशनमा पढ्न पाइन्छ ।”
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारितामा विश्वास कायम राख्नका लागि पनि समाधानमुखी पत्रकारिताको महत्व रहेको बताउनुभयो । अहिलेको समाजको अपेक्षाअनुसारको पत्रकारिता भइरहेको छ छैन भनेर समीक्षा गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गोरखापत्र जेठो र पुरानो अखबार भएपनि यसले पनि समाजले खाजेको विषय समाचारमा पस्कन नेतृत्वदायी भूमिका निभाइरहन निरन्तर छलफल आवश्यक छ ।”
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले निरन्तररूपमा रचनात्मक पत्रकारिताको छलफल अघि बढाइरहेको बताउनुभयो । पत्रकारिताको पाठ्यक्रममा नै यसलाई समेट्न पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । काउन्सिलले सञ्चारमाध्यममा रचनात्मक पत्रकारिताका सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराइले काउन्सिलले गोरखापत्रले रचनात्मक पत्रकारिताको नेतृत्व गर्नसक्छ भनेर सोच्नु संस्थानका लागि महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मिडिया अनुसन्धानकर्ता टुमराज कोइरालाले रचनात्मक पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत भुसालले गर्नुभएको थियो । सो कार्यक्रममा संस्थानका विभिन्न प्रकाशन, अनलाइनका सम्पादक र समाचारदातालगायगको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...