
ललितपुर, २८ वैशाख । पहिचानवादी मोर्चा स्थापनाको एक बर्ष पुगेको छ । २०८१ वैशाख २७ गतेका दिन स्थापना भएको मोर्चाले शनिबार ललितपुर थसिखेलस्थित कार्यालयमा पहिलो बार्षिक उत्सव मनाएको हो ।
जसपा नेपाल लगायत विभिन्न राजनैतिक दलहरुबाट स्वतन्त्र भई पहिचान पक्षधरहरुले पहिचानवादी पार्टी निर्माणको निमित्त अन्य संगठनहरुसँग जोडिदै जाने भनी प्रोफेसर डा. महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा बनेको हो ।
मोर्चाको बार्षिक उत्सवमा बोल्दै नेता खगेन्द्र माखिमले यो मोर्चामा सबै अटाउने र नयाँ राजनीतिक पार्टी निर्माण गर्दै देश जिम्मा लिने बताउनु भयो । त्यसैगरी डा. मित्र परियार, महिला नेत्री सरू सिंगकले माेर्चा निर्माणबारे प्रष्ट पारेका थिए ।
शनिबार आयोजित कार्यक्रममा नेकपा धर्मेन्द्र बास्तोला, बरिष्ठ पत्रकार भवानी बराल, आमूल परिवर्तनका अध्यक्ष दलमर्दन कामी, नेपाल जनमुक्ति पार्टी, नाउपा, नागरिक पहिलो अभियानका भुपेन्द्र नेम्बाङ लगायत विभिन्न संघ संगठन र राजनैतिक दलका नेताहरुले मोर्चालाई शुभकामना दिएका थिए ।

मोर्चाकै पहलमा चार संगठनले संयुक्त पहिचानवादी मोर्चा गरेको छ । नेपाल जनमुक्ति पार्टी, नाउपा, प्रदेश नं. १, प्रदेश नं. १ पुनः नामाकरण अभियान समिति र मोर्चाले नयाँ राजनीति पार्टी निर्माणको कार्य दिशा निर्माण गर्दै नयाँ पहिचानवादी पार्टी बनाउनेगरी मोर्चा बनेको नेताहरुले स्थापना दिवसमा खुलासा गरेका छन् । अब एक्लै एक्लै गएर गन्तव्यमा नपुगिने भएको हुँदा पहिचानको पक्षमा उभिएका पार्टीहरु मिल्नुको विकल्प नभएको उनूहरुले बताए ।
कार्यक्रम मोर्चाका आर्थिक संयोजक पूर्व मेजर असिम पालुङवाको स्वागत मन्तव्य तथा पहिचानवादी मोर्चा उपत्यका समितिका संयोजक टेक लावतीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।