केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

,   लिम्बुवान न्युज
                       


ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत मंगलबार मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।


विगत सात आठबर्ष देखि मुक्कुमलुङ संरक्षणको आन्दोलन निरन्तर भईरहेको तर राज्य पक्ष बेखरबन्दै लिम्बु याक्थुङहरुको मुन्धुमी आस्थाको धरोहर मुक्कुमलुङ अतिक्रमण गर्दै कानूनको उल्लंघन गर्दै कुनै प्रकृया नै पुरा नगरि माफिया चन्द्र ढकाललाई केवलकार निर्माण गर्न दिने सरकारको निर्णयको विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रेको पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।
सरकारले जनपथ र शसस्त्र प्रहरी लगायत जिल्ला प्रशासन मार्फत मुक्कुमलुङ संरक्षणकर्ताहरु माथि अमानविय ढंगबाट आक्रमण गरि घाइते बनाउने, गिरफ्तार गर्ने, पक्राउ गर्ने, गोली हान्ने, घाइते बनाउने, घर तोड्फोड गर्ने, पक्राउ पुर्जी जारी गर्दै त्रास फैलाउने कार्य गरेको, केवलकार पक्षधरहरुको मिलेमतोमा भिजलान्तेहरु प्रयोग गरि हिंसा मच्चाउने काम भएको र गम्भीर मानव अधिकारको उल्लंघन भएको आन्दोलनरत पक्षले जनाएका छन् ।
मुक्कमुलुङ संरक्षण पक्षधरहरूले सरकारसँग बारम्बार संवादको पहल गरे पनि सरकारले गम्भीरतापूर्वक नलिएको र सहमति तोडेको आरोप लगाएका छन् । २०८१ माघ २२ गते भएको ६ बुँदे समझदारीपछि उच्चस्तरीय वार्ता हुने सहमति भए पनि सरकारले वार्ता टोली नै नबनाएको आन्दोलनकारीहरूको आरोप छ ।
यसै सन्दर्भमा आन्दोलनकारीहरूले २०७७ माघ २९ गते सर्वोच्च अदालतमा पाथीभरा केबलकार प्रालि र सरकारविरुद्ध रिट दायर गरेका थिए । उक्त मुद्दा हालसम्म विचाराधीन छ भने सर्वोच्च अदालतले केबलकार निर्माणसँग सम्बन्धित संरचनामा अन्तरिम आदेश जारी राखेको छ । अदालतको यो आदेशलाई गलत व्याख्या गर्दै केवलकार पक्षधरहरूले काम थाल्ने तयारी गरिरहेको मुक्कुमलुङ संरक्षण पक्षधरले पत्रकार सम्मेलनमा जनाए ।
आन्दोलनरत संघर्ष समितिले संयुक्त जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘केबलकार निर्माणको काम अघि बढाए जनताको प्रतिरोध अपरिहार्य हुनेछ र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सरकारले लिनुपर्छ ।’
विज्ञप्तिमा २०८२ जेठ ३१ र असार १ गते मुक्कुमलुङ संरक्षण वृक्षारोपण–२ कार्यक्रम गरिने जनाइएको छ । यसैगरी इम्बिरी याङधाङवा (तमोर खोला) क्षेत्रको स्थलगत अध्ययन गरी त्यहाँ प्रस्तावित हाइड्रो पावर योजनाको प्रभाव संचारकर्मीहरुको उपस्थितिमा मूल्याङ्कन गर्दै आन्दोलनका थप कदम चालिने बताइएको छ ।
यस्तै युएनसहितका अन्तर्राष्ट्रिय निकायमा जानकारी पु¥याउने र विगतमा भएका निर्णयअनुसार धर्ना तथा जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने वताइएको छ ।
संघर्ष समितिका अनुसार मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक महत्वको स्थल भएको हुँदा त्यसलाई अतिक्रमण र व्यावसायीकरणबाट जोगाउनु आन्दोलनको मूल उद्देश्य रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
सरकार र केबलकार पक्षधरहरूबिचको मिलेमतो, जनताको आवाजप्रतिको उपेक्षा र विकासका नाममा हुने सांस्कृतिक संहारविरुद्ध आन्दोलन अब थप व्यापक र अन्तर्राष्ट्रियकरण हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका नेता ज्ञान बहादुर गुरुङ, नेपाल जनमुक्ति पार्टीका नेता सञ्जुहाङ पालुङवा, पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावती, जसपा नेपालका नेता सञ्जय राई, जसपाका रमेश राई, संविधानसभा सदस्य राजकुमार नाल्बो, प्रदेश नं. १ पुनः नामाकरण अभियान समितिका संयोजक डकेन्द्र सिंह थेगिम, पहिचानवादी गायक ब्रबिम सेर्मा र किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङले बोलेका थिए ।
कार्यक्रममा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिमले प्रेस विज्ञप्ति वाचन गरेका थिए भने सदस्य सचिव सरोज कङलिवा लिम्बुले कार्यक्रमको संचालन गरेका थिए ।

प्रेसविज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;