काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा), नेपालको अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागिताले प्रदेश २ सरकारमा प्रत्यक्ष असर पारेको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष पूर्वराजपाका मन्त्रीलाई हटाएर तत्काल प्रदेश सरकार पुनर्गठन गर्ने तयारीमा लागेको पार्टी स्रोतले जनाएको छ ।
जसपा प्राविधिक रूपमा एक पार्टी भएपनि हाल पार्टी व्यावहारिक रुपमा विभाजन भइसकेको जस्तो देखिएको छ । अध्यक्ष यादव पक्षले प्रदेश सरकारमा पूर्वराजपाका मन्त्रीहरूलाई हटाएर केन्द्रको विपक्षी गठबन्धन सम्मिलित सरकार बनाउन लागेको उनीनिकट स्रोतले बताएका छन् । प्रदेश २ को मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका यादवले नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग भेटघाट गरेका छन् । भेटमा निधिले मुख्यमन्त्री दिन प्रस्ताव राखेका छन् ।
प्रदेश २ सभामा १ सय ४ सांसद छन् । जसमा जसपा अध्यक्ष यादव पक्षमा ३२ र पूर्वराजपा पक्षमा २३ सांसद छन् । त्यसैगरी एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन् । यो प्रदेशमा एमालेका २१ मध्ये खनाल–नेपाल समूहमा बहुमत सांसद रहेका छन् । तत्काल अर्को सरकार बन्ने सम्भावना नरहेको हुँदा कांग्रेस र माओवादी केन्द्रको समर्थन रहेमा अध्यक्ष यादव नयाँ सरकार पुर्नगठन गर्ने निर्णयमा पुगेका हुन् ।
त्यस्तै, केपी शर्मा ओली नेतृत्वको संघीय सरकारका सहभागी हुने जसपाका सबै नेतालाई यादव पक्षले निष्कासन गर्ने जनाएको छ । यादवको अध्यक्षतामा यहि जेठ ८ मा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
नेता खतिवडाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर मन्त्री भएका सबैलाई पार्टीबाट निष्कासन गरिने बताए । ओली नेतृत्वको सरकारमा सहभागीमध्ये पार्टीका गरिएको थियो ।
वरिष्ठ नेता राजेन्द्र महतो र नेता लक्ष्मणलाल कर्णलाई यसअघि नै निष्कासन गरिसकेको यादवले मन्त्रीहरू शरतसिंह भण्डारी, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, राज्यमन्त्रीहरू चन्द्रकान्त चौधरी र रेणुका गुरुङलाई पार्टीबाट निष्कासन गरिने भएको हो ।
उपप्रधानसहित सहरी विकासमन्त्री भएका बरिष्ठ नेता महतोले कारबाहीको कुनै अर्थ नहुने बताए । कागजी बहुमत देखाएर हुने कारबाहीको कुनै अर्थ नभएकाे तर्क गरेका महताेले ६०/७० प्रतिशत बहुमत हामीसँग छ,’ भने । नेता महताेले तराई–मधेसका माग अनुसार मुद्दा सम्बोधन भएकाले सरकारमा सहभागी भएकाे बताएका छन् । तर, हाम्राे ध्यान मुद्दामाथि नै केन्द्रित रहेकाे बताए ।