लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक प्रति महासंघको अपत्ती

 लिम्बुवान न्युज
                       

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सञ्चार रजिष्ट्रार तथा सञ्चार परिषद् स्थापनाका लागि प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयकप्रति नेपाल पत्रकार महासंघलगायत पत्रकार सम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन् ।

प्रदेश सरकारले प्रेस स्वतन्त्रता, संविधानको मर्म र भावना विपरित नियन्त्रणमुखी कानून बनाउन लागेको भन्दै उनीहरुले विधेयक पुनर्लेखन नगरे आन्दोलनमा जान बाध्य हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र लुम्बिनी प्रदेश समितिले शनिबार गरेको भर्चुअल छलफलमा सहभागी पत्रकारहरुले विधेयकमा व्यावसायिक र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने, दर्ता खारेज र पत्रकारलाई जेल सजाय जस्ता आपत्तिजनक प्रावधानहरु राखिएकाले पुनर्लेखन हुनुपर्ने माग गरे । सञ्चार परिषद्को अध्यक्षमा सञ्चार विज्ञ र बहुमत सदस्यहरु पत्रकार आवद्ध संघसंस्थाहरुबाट राखिनुपर्ने माग गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सञ्चारमाध्यमको दर्ता खारेजी, पत्रकारलाई ६ महिनादेखि १ वर्षसम्म जेल सजाय लगायतका प्रावधानहरु संविधान र प्रेस स्वतन्त्रता विरोधी रहेकाले पुनर्लेखन हुनुपर्ने माग गरे । पोखरेलले भने, ‘सञ्चार परिषदलाई मन्त्रीको स्वकीय सचिवालय जस्तो बनाउने विधेयक जस्ताको त्यस्तै पारित भयो भने महासंघ ठूलो आन्दोलनमा जान बाध्य हुन्छ ।’

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले संघीय कानूनसँग बाझिने गरी संविधानको मर्म र भावना विपरित विधेयक आएको भन्दै यो स्वीकार्य नहुने बताए । विधेयक प्रेस स्वतन्त्रताविरुद्ध रहेकाले पूर्णरुपमा पुनर्लेखन हुनुपर्ने उनको माग छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले विधेयकको प्रस्तावनादेखि नै स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने गरी नकारात्मक दृष्टिकोणले ल्याइएको भन्दै पत्रकार महासंघ, पत्रकार आवद्ध संघसंस्था र सञ्चार विज्ञको सुझावलाई समेटेर व्यावसायिक पत्रकारिता र प्रेस स्वतन्त्रतामैत्री हुने गरी पुनर्लेखन गर्न माग गरे ।

पत्रकार महासंघका महासचिव रोशन पुरीले प्रस्तावित विधेयकमा सरकारको आदेश र निर्देशन पालना नगर्ने तथा झूटो विवरण प्रकाशन गरेको लागेमा सञ्चारमाध्यमको दर्ता नवीकरण बन्द गर्ने, पत्रकारलाई ६ महिनादेखि १ वर्षसम्म कदै गर्न सक्ने जस्ता प्रावधानहरू आपत्तिजनक रहेकाले स्वीकार्न नसकिने बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले प्रदेश सरकारले स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने उद्देश्यले विधेयक ल्याएको भन्दै कुनै हालतमा स्वीकार नगर्ने बताए ।

प्रदेशसभाको कानून समिति सभापति दामा शर्माले पत्रकारहरुको सुझावलाई समेटेर परिमार्जन वा पुनर्लेखन गरेर विधेयक पारित गर्न आफूले पहल गर्ने बताइन् । भर्चुअल छलफलमा पत्रकार सम्वद्ध विभिन्न संघ संगठन र लुम्बिनी प्रदेशका पत्रकार महासंघका जिल्ला अध्यक्षहरुले समेत आफ्ना सुझाव राख्दै विधेयक पुनर्लेखन गर्न माग गरेको महासंघका प्रदेश सहासचिव विक्रम खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;