प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित, यसै अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउने मुख्यमन्त्रीको प्रस्ताव

 लिम्बुवान न्युज
                       

विराटनगर, ३० जेठ । प्रदेश १ सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पारित भएको छ । दुईदिनको छलफल पश्चात नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित गरेको हो ।

बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम पेश गरेका थिए । शुक्रबार १० जना र शनिबार २२ जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए । त्यसक्रममा नेकपा एमालेको सत्ता पक्षबाहेक अन्य दलहरु र एमालेकै माधव नेपाल पक्षका सांसदले बजेटको आलोचना गर्दै कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् ।

आइतबार मुख्यमन्त्री शेरधन राईले दुई दिनको छलफलमा उठेका प्रश्नको जवाफ दिदै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले छुट्टाछुट्टै संशोधन प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्रीको सम्बोधनपछि जनता समाजवादी पार्टीको तर्फबाट पेश भएको प्रस्ताव दलका नेता जयराम यादवले फिर्ता लिए । माओवादी केन्द्र र कांग्रेसले पेश गरेको संशोधनको प्रस्ताव फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो ।

खुवालुङमा प्रदेशको प्रतिवाद, ढुंगा गिट्टीमा प्रदेशको मौन समर्थन

मुख्यमन्त्री राईले खुवालुङ बचाउने विषयमा शंका नगर्न आग्रह गरेका छन् । उनले केन्द्र सरकारले खुवालुङ फुटाउने नीति बनाएकोमा आपत्ति जनाउँदै किरात अभियन्ताहरुको विरोधपछि सरकार केही पछि स¥यो बताए । तर २०७८–७९ को बजेटमा खुवालुङ फुटाउने आशयको योजना समेटिएकोमा त्यो रोक्ने प्रतिबद्धता जनाएका छन् । खुवालुङ् ढुंगा मात्र नभएर किरातीहरुको संस्कृति, मुन्धुम र सभ्यतासँग जोडिएको ढुंगा भएको हुँदा त्यसको संरक्षण गरेर अन्य अवरोधहरुलाई हटाएर जलमार्गलाई संचालनमा ल्याउने बताए ।

खुवालुङ संरक्षण गर्ने प्रतिबद्धता गरेका मुख्यमन्त्री राईले चुरे संरक्षण गर्दै ढुंगा गिटी निकासीमा मौन समर्थन गरेको देखियो । संघीय सरकारको मौन समर्थन गरेको हो भन्ने प्रतिपक्षी दलले शंका व्यक्त गरे । यद्यपि ढुंगा गिट्टीका विषयमा केन्द्र सरकारलाई ध्यानाकर्षण गरेको मुख्यमन्त्री राईले बताए ।

प्रदेशको नाम टुंगो लगाउने मुख्यमन्त्रीको प्रस्ताव

प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भए पनि प्रदेश १ को नामाकरण अझै हुन नसकेकोमा सरकार आलोचना भएको छ । प्रदेशको नामाकरण यसै जारी अधिवेशनबाट टुंगो लागउने मुख्यमन्त्री राईले प्रस्ताव प्रस्ताव गरे ।

उनले भने– ‘प्रदेशको नामांकन यस अधिवेशनबाटै हामीले टुङ्याउनु पर्छ,’–मेरो प्रस्ताव छ, यो नीति कार्यक्रम र बजेट पास भएको भोलिपल्टबाट छलफल शुरु गर्नुपर्छ ।’

प्रदेश १ मा कोशी, सगरमाथा, कोशी किरात नाम बढी चर्चामा रहेको छ । यद्यपी २०६२ साल देखि आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने संविधान संसोधन गरेर ७ प्रदेश खारेज गरी १०+१ प्रान्त बनाइनु पर्ने र प्रदेश १ लाई लिम्बुवान र किरात खम्बुवान प्रदेश बनाउनु पर्ने भनेर आन्दोलन गरिरहेको हुँदा प्रदेश १ को नामाकरणमा अझै विवाद कायमै रहेको देखिन्छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...