अविरल बर्षाका कारण १३ जिल्ला बाढी प्रभावित हुँदा ५ को मृत्यु, १९ जना बेपत्ता

,   लिम्बुवान न्युज
                       

काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो ।

विभिन्न जिल्लाबाट आज साँझसम्ममा प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विद्युत् सेवा साथै अन्य सेवाहरु पनि अवरुद्ध भएको छ । ठाउँठाउँमा सडक पनि अवरुद्ध भएका छन् ।

मनसुनको सुरुवातमै ठूलो क्षति भएपछि गृह मन्त्रालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बसेको छ । र, खोज, उद्दार तथा राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ ।

बुधबारै प्रधानमन्त्रीको अध्यक्षतामा हुने विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक पनि बसेको छ ।

कहाँ–कहाँ क्षति पुग्यो ?

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सिन्धुपाल्चोकमा बुधबार दुई जनाको शव भेटिएको छ । यद्यपि सनाखत भइसकेको छैन । थप १६ जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बेपत्तामध्ये ६ जनाको परिचय खुलेको छ । उनका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं. ३ का ६६ वर्षीय टिकामाया खड्का, वडा नं. ७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं. ६ का ५० वर्षीय च्याङा तामाङ र चौताराका २३ वर्षीय सुरेन्द्र नेपालको अवस्था अज्ञात छ । अन्यको पहिचान खुलिसकेको छैन ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको खनालले बताए । त्यसक्रममा पानीमा फसेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले ६० जनाको उद्दार गरेका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घरको छतमा फसेका ४ जनालाई ‘एयर लिफ्ट’ गरेर सुरक्षित स्थानमा लगिएको थियो । सिन्धुपाल्चोकको प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि निरीक्षणका लागि पुगेका थिए ।

बाढीले अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु पनि डुबानमा परेका छन् । बाढीका कारणले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, मनाङले जनाएअनुसार बाढीमा परेर ५३ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको छ । जिल्लाको चामे र ताल बजार क्षेत्र डुबानमा पर्दा करिब एक हजार जना प्रभावित भएका छन् ।

प्रभावितको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली खटिएको थियो । गृहमन्त्री खगराज अधिकारीले नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत राहत सामग्री पठाउन र उद्दार गर्न निर्देशन दिएका थिए । तर प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सकेन ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार प्रभावितलाई नयाँ बन्दै गरेको कारागार कार्यालयमा सारिएको थियो । उनकाअनुसार नासोँ गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंक रहेको भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

हाल प्रभावित क्षेत्रका वासिन्दा दुई समूहमा बाँडिएर सुरक्षित स्थानमा बसेका छन् ।

पाल्पा, बाजुरा र डोटीमा एक/एक जनाको मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय मदन भट्टराई छन् । घरमा मदनकी आमा पनि थिइन् । उनको सकुशल उद्दार भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार खोलाले बगाउँदा बूढीनन्दा नगरपालिका–३ की ३५ वर्षीया मोतीकला लुहारको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका–५, किम्नीमा १२ वर्षीय बालक पनि बेपत्ता छन् ।

पहिरोमा परिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ६० वर्षीय खडकबहादुर बमको घटनास्थलमै मृत्यु भएको हो । १६ वर्षीया पुनी कुँवर र १७ वर्षीया पूजा कुँवर घाइते भएका छन् । (अनलाइनखबरबाट)

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;