माओवादीले ९९ जना केन्द्रीय समितिमा थप्ने, ४० बर्ष मुनिका युवाहरुलाई बढी प्राथामिकता

 लिम्बुवान न्युज
                       

काठमाडौं, ७ असार । नेकपा माओवादी केन्द्रले ९९ जना केन्द्रीय समितिमा सदस्य थप्ने तयारी शुरु गरेको छ । माओवादीले थप गरिएकोमा ४० वर्षमुनिका युवाहरुलाई विशेष प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी थालेको हो ।

एमालेसँगको पार्टी एकता सर्वोच्चले वदर गरिदिएपछि माओवादीले नयाँ संगठन निर्माणको तयारी शुरु गरेको हो । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुनेछ ।

फाइल तस्वीर

संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा थप ९९ सदस्य थप्ने सुझाव दिइएको बताए । उने भने– ‘नयाँ सदस्य थप्दा ४० वर्षमुनिका युवालाई विशेष प्राथमिकता दिइने छ ।’

माओवादीले यस अघि नै केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याएको थियो । सोही बमोजिम केन्द्रीय कमिटी बन्न लागेको अर्का कार्यदल सदस्य जनार्दन शर्मा प्रभाकरले बताए । उनले युवा नेतृत्वलाई पहिलो प्राथामिकतामा राखिनु पर्नेमा जोड दिए ।

केन्द्रीय सदस्यको नाम सङ्कलन जारी, ४ हजारको संख्यामा रहेको सदस्यहरुबाट छान्न सकस पनि उत्तिकै

केन्द्रीय समितिमा नाम संकलन गर्न माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । आज सोमबारसम्ममा प्रदेश कमिटीबाट सुझाव आइसक्ने नेता शर्माले बताए ।

सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।

यसअघि गत चैतमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति २ सय सदस्यीय नै हुने बताएका थिए । कार्यदल सदस्य यादवले भने छुटेकाहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले २ सय ९९ सदस्यीय बनाउन त्यसै अनुसार सुझावहरु समेटिएको बताए । केन्द्रीय समिति टुंगो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुंगो लाग्ने छ ।

एकताका माओवादी केन्द्रमा ४ हजार बढी केन्द्रीय सदस्यहरु थिए । सो अनुसार हाल माओवादीलाई केन्द्रीय सदस्य छान्न भने निक्कै सकस भएको स्रोतले बताएको छ । यद्यपी २०७५ जेठ ३ गते दुई पार्टी (एमाले र माओवादी केन्द्र) एक भएर बनेको नेकपामा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना केन्द्रीय सदस्य बनेको हुँदा माओवादीलाई थप ९९ जना सदस्य छान्न त्यति कठिनाई पर्ने पनि बुझिएको छ ।

२०७७ फागुन २३ मा सर्वोच्चले एकता बदर गरिदिएपछि गत चैतमा बसेको माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकमा १ सय ८५ जना उपस्थित थिए । सो बैठकमा नेता रामबहादुर थापा ‘बादल’ लगायत १० जना अनुपस्थित भएको र एमालेसँग एकता भएयता ५ जना केन्द्रीय सदस्यहरुको मृत्यु भएको जानकारी गराइएको थियो ।

पूर्वमाओवादी नेताहरु बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायतका नेताहरु एमाले प्रवेश गरी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उनीहरुलाई पार्टीले यस अघि नै कारवाही गरिसकेको हुँदा अब उनीहरु नफर्किने निष्कर्षसहित सो रिक्त भएको स्थानमा पनि पदपूर्ति गर्ने तयारी माओवादी थालेको जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...