शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गरिदैं

 लिम्बुवान न्युज
                       

दमक, झापा । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका क्रममा हत्या भएका शहीद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गर्न थालिएको छ । तत्कालीन मालेका संस्थापक केन्द्रीय सदस्य रत्नकुमारलाई इलामको माङसेबुङ–२ स्थित इभाङमा निरंकुश पञ्चायती राज्यसत्ताले ०३५ चैत २७ गते गोली प्रहारबाट हत्या गरेको थियो । पञ्चायती राज्यसत्ताका सिपाहीको गोलीबाट उनी मारिएका थिए। हत्या भएको २७ वर्षपछि ०७२ मा मात्र बान्तवालाई शहीद घोषणा गरिएको थियो ।

इभाङमा रहेको एक किसानको घरबाट ०३५ चैत २७ गते बिहानै ताप्लेजुङका लागि रत्नकुमार बान्तवा, सुशीला श्रेष्ठ, अगम बान्तवा र कुसुम राई हिँडेका थिए। प्रहरीसँग उनीहरुको भेट भएको २७ चैत ०८१ मा सहादतस्थलमा भएको कार्यक्रममा रत्नकी सहयोद्धा जसपा नेतृ सुशीला श्रेष्ठले उल्लेख गरेकी छन्। प्रहरीसँगै आएका सुराकीले बान्तवालाई चिनाएपछि उनको हत्या गरिएको थियोे । प्रहरीको गोली लागि हत्या गरिएका रत्नकुमारको शवलाई सुशीलाले नै ओडेको बर्कोमा हालेर प्रहरीले लगेको सुशीलाले बताएकी थिइन् । केही पर लगेपछि दिसा गर्ने बहानामा सुशीला भने प्रहरीबाट फुत्किन सफल भएकी थिइन् ।

केही वर्षअघिसम्म संरक्षण अभावमा झाडीमा परिणत भएको शहीद वान्तबाको सहादतस्थललाई संरक्षण सुरु गरिएको हो । शहीद रत्न–बम प्रतिष्ठान नेपालले संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा कम्युनिस्ट आन्दोलनका अगुवा रत्नकुमारको सहादतस्थल संरक्षणको काम थालेको हो ।

बान्तवा बुवा गर्जमान र आमा पुष्पमाया राईको कोखबाट २००८ चैत २७ गते इलाम चमैताको चित्रे (हाल देउमाई नगरपालिका– १) मा जन्मिएको उनीबारे अनुसन्धान गरेर पुस्तक नै लेखेका अध्येता तथा रत्न बम प्रतिष्ठानका पूर्वअध्यक्ष डा. देवी क्षेत्री दुलालले बताए । उनको बाल्यकाल अभाव र गरिबीमा बित्यो। प्रारम्भिक चरणको शिक्षा चमैतामा पूरा गरी कक्षा ७ सम्म इलामको नारायणस्थानमा आफ्ना मामा गणेश राईको घरमा बसेर पढेको दुलालले बताएका छन् ।

उनी पढ्नकै लागी पाँचथरको फिदिम हाइस्कुल गए । ०२८ सालमा उच्च शिक्षाका लागि धरानमा काका नाता पर्ने तुलराम देवानको घरमा बसेर आईए पढेको उनी बताउँछन् । तुलरामका छोरा बम देवानसँग रत्नको राम्रो मित्रता कायम रह्यो। उनले धरानमा पढे पनि त्यसको वार्षिक परीक्षा भने इलाम क्याम्पसबाटै दिएका थिए । आईए उत्तीर्ण गरेर बीएड पढ्न ०३० सालमा काठमाडौं गए । त्यहाँ उनी दुई वर्ष बसेका थिए । फर्किएपछि उनी इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लगभग छ महिना अध्यापन गरी पूर्णकालीन राजनीतिमा सक्रिय भएको दुलाल बताउँछन् । ०३२ सालमा अखिल नेपाल कोअर्डिनेसन केन्द्रको इलाम जिल्ला कमिटीसदस्य हुँदै नेकपा मालेको संस्थापक केन्द्रीय सदस्य भएको दुलाल बताउँछन् । केन्द्रीय सदस्य भएका रत्नकुमार बान्तवा पूर्वउत्तर क्षेत्रको इन्चार्ज थिए । उनको कार्यक्षेत्र इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर र संखुवासभा जिल्ला रहेको दुलाल बताउँछन् । रत्नकुमार बान्तवाले ०३४ सालमा चमैताको आफ्नै घरमा सुरुङ बनाएर आन्दोलन गरेका थिए । बान्तवाकै परिकल्पना र निर्देशनमा सुरुङ बनाइएको थियो । सुरुङभित्र ६/७ जना बसेर छलफल गर्न सक्ने ठाउँ रहेको अध्येता दुलालको भनाइ छ । सुरुङको एउटा मुख रत्नको घरमा थियो भने अर्को मुख जंगल बीचमा थियो । झापा विन्द्राेहको गहिरो छाप परेर राजनीतिमा होमिएका रत्नकुमारको सहादतस्थल यति वेला संरक्षण सुरु गरिएको छ ।

प्रारम्भीक चरणमा सहादतस्थलमा रत्नकुमार बान्तवाको शालिक निर्माण गर्ने, वरिपरि कम्पाउण्ड बनाएर संरक्षण गर्ने काम गरिएको प्रतिष्ठानका पूर्वअध्यक्ष देवी क्षेत्री दुलालले जानकारी दिए । अहिले प्रारम्भीक चरणमा सहादतस्थल संरक्षणको काम मात्र गरिएको उनले बताए । जसका लागि संघीय, प्रदेश र स्थानीय सरकारले सहयोग गरेको उनको भनाइ छ । रत्नकुमारको सहादतस्थल संरक्षणका लागि आर्थिक वर्ष ०७६/०७७ मा संघीय सरकारले ३० लाख, प्रदेश सरकारले ०७९/०८० मा प्रदेश सरकारले दश लाख तथा माङसेबुङ गाउँपालिकाले गत आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट दिएको पूर्वअध्यक्ष दुलालले जानकारी दिए । ‘सरकारले दिएको बजेटले शालिक निर्माण, वरिपरि टायल्स हाल्ने काम, कम्पाउण्डका लागि पर्खाल लगाउने काम गरिएको छ,’ उनले भने, ‘यो प्रारम्भीक संरक्षणको काम मात्र हो । यसमा धेरै काम गर्नुपर्नेछ । यो देहातमा भएका कारण हामीले संरक्षणको प्रारम्भीक काम गर्नुअघि एउटा पाखा मात्र थियो । त्यहाँ झोडा थियो । अहिले कम्तीमा रत्नको सहादतस्थल देखिन्छ ।’

उनका अनुसार संरक्षण गर्नुअघि त्यहाँ एउटा पुरानो चौतारा मात्र थियो । अहिले सामान्य पार्क बनेको छ । तीनै तहको सरकारले ४५ लाख बजेट दिएपनि त्यसपछि सरकारले सहादतस्थलको संरक्षणका लागि बजेट विनियोजन नगरेको उनले बताए । ‘सरकारले बजेट दिएमा रत्नको जन्मस्थल चित्रे, सहादतस्थल इभाङ र उहाँको अन्त्यष्टि गरिएको स्थल इलाम नगरपालिकालाई शहीद सर्किट बनाएर पर्यटकीय स्थान बनाउने गरिको डिपिआर र मास्टर प्लान छ,’ उनले भने, ‘त्यहाँ फूलबारी बनाउने, प्रज्ञाप्रतिष्ठानको जस्तो डबली बनाउने, रत्नकुमारको हत्या गरिएको ठाउँमा रगत बगेको सिम्बोल बनाउने हाम्रो लक्ष्य छ । तर, बजेट अभावमा हामीले काम अघि बढाउन सकेका छैनौँ ।’ डिपिआरमा जन्मस्थान चित्रे, सहादतस्थल इभाङ र अन्त्यष्टि गरिएको इलाम नगरपालिकालाई जोड्ने शहीद सर्किट निर्माण गर्ने उल्लेख छ । यी तीनै स्थानमा पार्क निर्माण गर्ने डिपिआरमा उल्लेख छ । यस्तै, जन्मस्थानमा रहेको घर त्यहाँ आन्दोलनका क्रममा रत्नकुमारले प्रयोग गरेको सुरुङ, मिटिङ हललगायतलाई संरक्षण गर्ने गरी एकीकृत गुरुयोजना बनाइएको छ । यस्तै, रत्नकुमार जन्मिएको गाउँका किसानलाई एकीकृत पशुपालनमा जोड्ने, होमस्टे सञ्चालनमा ल्याउने समेत गुरुयोजनामा उल्लेख छ ।

उनका अनुसार त्यस स्थानलाई पर्यटकीयस्थलको रूपमा विकास गर्ने लक्ष्य छ । देउमाई नगरपालिकाले कक्षा ७ को स्थानीय पाठ्यक्रममा पनि रत्नकुमार बान्तवाको जीवनीबारे राखेर अध्ययन गराइरहेको छ । तसर्थ शैक्षिक रूपमा भ्रमणमा पर्यटक आउने प्रतिष्ठानका पूर्वअध्यक्ष दुलाल बताउँछन् ।‘पञ्चायती व्यवस्था ढाल्न रत्नकुमारले संघर्ष गर्दागर्दै राज्यपक्षले हत्या गरेको ठाउँलाई पर्यटकीयस्थल बनाउन सकिन्छ । नजिकै गजुरमुखीधाम पनि रहेकाले त्यहाँ पर्यटक आउने सम्भावना छ । कम्युनिस्ट आन्दोलनमा रहेका त त्यहाँको अध्ययन तथा अनुसन्धानको लागि आउँछन् नै त्यसबाहेकका पर्यटक पनि रत्नकुमारबारे अनुसन्धान गर्नेहरु आउने सम्भावना छ । स्थानीय पाठ्यक्रममा पनि रत्नकुमारको विषय भएका कारण वर्षैपिच्छे अध्ययनका लागि शिक्षक तथा विद्यार्थी पनि आउँछन्,’ पूर्वअध्यक्ष दुलालले भने, ‘यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके माङसेबुङ गाउँपालिकाले यसको प्रत्यक्ष फाइदा लिनसक्छ । तसर्थ राज्यले लगानी गर्नुपर्छ भनेर भनिरहेका छौँ ।’

शहीद रत्नकुमार बान्तवाको सहादतस्थल देहातमा पर्छ । त्यहाँ जाने सडक पनि कच्ची छ । करिब डेढ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने अवस्था रहेको प्रतिष्ठानका पूर्वअध्यक्ष दुलाल बताउँछन् । ‘रत्नको सहादतस्थल पुग्ने सडक अहिले कच्ची छ । त्यहाँसम्म पुग्ने सडक कालोपत्रे गर्नका लागि हामीले पहल गरिरहेका छौँ,’ दुलालले भने, ‘यसमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्दछ ।’

रत्नको सहादतस्थल रहेको रत्नबस्तीका स्थानीय जीवन वाङ्देलले प्रजातन्त्र पुनस्र्थापनापछि स्थानीयले रत्नकुमारको सम्झनामा सहादतस्थल नजिकै चौतारो निर्माण गरिएको बताए । पछिल्लो समय संरक्षण गर्दै सहादतस्थलमा पार्क निर्माण गरे पनि यो पर्याप्त नभएको उनको भनाइ छ । व्यवस्था परिवर्तनका निम्ति शहीद भएका रत्नकुमारको सहादतस्थललाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने उनको भनाइ छ । ‘पछिल्लो समय संरक्षणको काम त भएको छ । तर, यो पूर्ण छैन । यहाँ गेटमा ढोका छैन । कम्पाउण्ड घेराबारा नभएका कारण जीर्ण बन्दै गएको छ । सहादतस्थलजाने बाटाृे बेहाल छ । त्यो निर्माण गर्नुपर्दछ,’ उनले भने, ‘रत्नकुमार एउटा पार्टीको मात्र नभई देशको शहीद हो । तसर्थ यहाँ राज्यको ध्यान जानुपर्छ । अहिले पनि यहाँ रत्नकुमारको सहादतस्थल हेर्न आउनेहरु आइरहेका छन् । गजुरमुखीधाममा दर्शन गर्न आउने रत्नकुमारको सहादतस्थल हेर्न आउँछन् । यो स्थानको पर्यटकीय सम्भावना छ । राज्यको ध्यान जानुपर्दछ ।’

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छवि खतिवडाका अनुसार रत्नकुमारको सहादतस्थलमा आन्तरिक पर्यटकलाई जोड दिनु उचित हुन्छ । ‘पर्यटक बढाउनका लागि सबैभन्दा पहिला त त्यो ठाउँको उजागर गर्नुपर्छ । यसमा राज्यले नै लगानी गर्नुपर्दछ,’ उनले भने, ‘यो ठाउँमा सबैभन्दा उपयुक्त आन्तरिक पर्यटक नै हुन्छन् । रत्नकुमारको ऐतिहासिकता बुझेका मान्छेहरु भ्रमण गर्न आउँछन् । अहिले बाह्य पर्यटक भन्दा पनि आन्तरिक पर्यटकलाई ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ ।’

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले शहीद रत्नकुमारको सहादतस्थललाई पर्यटकीयस्थल र अध्ययन तथा अनुसन्धान गर्ने स्थानको रूपमा विकास गर्नुपर्ने बताए । यसका लागि स्थानीय सरकारले मात्र नसक्ने भएकाले संघीय र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘निरंकुश पञ्चायती सत्ताविरुद्ध संघर्ष गर्ने आदर्श व्यक्ति शहीद रत्नकुमारको सहादतस्थल संरक्षणमा हामी पनि लागि परेका छौँ । तर, स्थानीय सरकारबाट मात्र यो काम सम्भव छैन । प्रदेश सरकार र संघीय सरकारले पनि सहयोग गर्नुपर्छ । यसका लागि हामीले पहल गरिरहेका छौँ,’ उनले भने, ‘संघीय र प्रदेश सरकारलाई पटकपटक आग्रह गरेका छौँ । हाम्रो पहलपछि आर्थिक वर्ष ०७९/८० मा प्रदेश सरकारले बजेट पनि हाल्यो । संघ र प्रदेशले बजेट दिने प्रतिबद्धता जनाएको छ । प्रदेश र संघीय सरकारले बजेट दिनेमा हामी विश्वस्त छौँ । फलोअप पनि गरिरहेका छौँ । यस क्षेत्रलाई पर्यटकीय र अध्ययन÷अनुसन्धान गर्ने क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।’

तस्वीरः हरप्रहरखबर डटकमबाट

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...