दमक नगरपालिकाकाे बजेट एक अर्ब ४७ करोड पेस

 लिम्बुवान न्युज
                       

दमक, ११ असार । झापाको दमक नगरपालिकाले  १७औँ नगरसभामा आर्थिक वर्ष ०८२/८३ का लागि एक अर्ब ४७ करोडको बजेट पेस गरेको छ । मंगलबार सभाले अस्वाभाविक आन्तरिक स्रोतको अनुमान गरेर बजेट ल्याएको हो ।

चालू आर्थिक वर्षमा दमक नपाले अनुमान गरेको आधापनि आन्तरिक स्रोत संकलन हुन नसकेको अवस्थामा उच्च अनुमान राखेर बजेट ल्याइएको हाे ।

चालू आर्थिक वर्ष ०८१/८२ मा दमक नपाले आन्तरिक स्रोत ३१ करोड ८ लाख ३१ हजार १४५ अनुमान गरेको थियो । जेठ मसान्तभित्र त्यसको करिब आधा १६ करोड ९१ लाख ६० हजार ५८९ रुपैयाँ मात्र आन्तरिक स्रोत संकलन भएको  जनाएको छ । चालू आर्थिक वर्षमा कर संकलनका लागि घर दैलो कार्यक्रम गर्दा पनि अनुमानभन्दा कम आन्तरिक राजस्व संकलन भएको छ । तर, नगरपालिकाले आगामी आर्थिक वर्षमा झनै अस्वाभाविक र अविश्वसनीय आन्तरिक स्रोत संकलनको अनुमान गरेर बजेट ल्याएको हो।

दमक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३९ करोड ९१ लाख ५४ हजार ९१६ आन्तरिक स्रोतको अनुमान गरेको छ । यो दमक नगरपालिकाको वास्तविक आन्तरिक आयभन्दा झन्डै दोब्बर हो । किनकि विगतमा दमक नपामा आन्तरिक स्रोत २० करोडसम्म उठ्न सकेको छैन ।

सराेकारवाला दमकवासी राजनीतिज्ञय, सामाजिक व्यक्तित्व, नागरिक समाज लगायतले नगरपालिकाले ल्याएको बजेट अविश्वसनीय, अव्यावहारिक र कार्यान्वयनमा चुनौती हुने बताउँछन् ।

नपाले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षमा बजेटको आकार भने घटाएको छ । चालू आर्थिक वर्षमा एक अर्ब ६३ करोड ८ लाख ५ हजार ७८४ रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्ष  ०८२/८३ का लागि गत वर्षको तुलनामा १६ करोड ८ लाख ५ हजार ७८४ रुपैयाँ कमको बजेट ल्याएको छ।

बजेट घाटामा देखाउन नमिल्ने भएका कारण आन्तरिक स्रोतको अनुमान बढाइएको दमक नपाकी उपप्रमुख तथा बजेट तर्जुमा समिति संयोजक रेगिना भट्टराईले बताइन् । ‘यसपटक घरदैलो कार्यक्रमबाट एक करोड राजस्व बढेको कारण अर्को वर्ष पनि यो अभियान अघि बढाउन सकिन्छ । यस्तै, नागरिकमा कर तिर्नुपर्छ भन्ने चेतनाको पनि विकास गर्न सकिन्छ । खासगरी घाटा बजेट नदेखाउने चलन भएका कारण आम्दानीमा आन्तरिक स्रोतको प्रक्षेपण केही बढी गरिएको छ । लेखिएको अंक उठ्न चाहिँ गाह्रो छ । तर, बजेट कस्तो हुन्छ भन्ने कुरा पारित गरेपछि मात्र थाहा हुन्छ । भर्खर त पेस भएको छ,’ उनले भनिन्, ‘हामीले आन्तरिक राजस्वमा पनि केही शीर्षक त थपेका छौँ । तर, त्यसले पनि त्यति धेरै त बढ्दैन । घरबहालमा सीमा छुट्याएर बहाल लगाउने भएका छौँ । उद्योग वाणिज्य संघसँग व्याहारिक अनुगमन गरेर ठाउँ अनुसार बहाल निर्धारण हुनेछ । संस्थागत बहाल कर १० प्रतिशत बनाएका छौँ।’

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...