राष्ट्रियसभाको ८औं अधिवेशन शुरु

,   लिम्बुवान न्युज
                       

काठमाडौं। संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको ८औं अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को संक्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

उनले भने, स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गरी बस्न सकियोस् भनी सभाहलको मर्मत सुधार गर्नेलगायत सम्पूर्ण काम पूरा भएको छ, उपकरणलाई पनि चुस्त तुल्याइएको छ, छुटेका सदस्यलाई खोप लगाउने र एन्टिजेन परीक्षण गर्ने काम भने आज भइरहेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ ।

यद्यपि, बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ ।

बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ । प्रतिनिधिसभाविहीन अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न । प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीसँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ ।

सरकारले पनि लागेका लाञ्छना र प्राप्त उपलब्धिबारे सदनमार्फत जनतालाई स्पष्ट पार्न मौका मिलेको छ । राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको हो ।

एउटा अधिवेशनको समाप्ति र अर्का अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रियसभाको अधिवेशन बेग्लै आह्वान हुने अवस्था आएको हो । राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल छन्।

हाल राष्ट्रियसभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीनजना मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीत भएका छन् ।

पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा. खिमलाल देवकोटा (वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) अधिवेशनमा नयाँ प्रवेशी छन् । (रातोपाटीबाट)

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;