काठमाडौं, १९असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । आज (शनिबार) बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
कार्तिकमा महाधिवेशन गर्ने कार्यतालिका बनेसँगै भदौं मसान्तसम्ममा वडा÷गाउँ÷नगर÷प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन गरिने स्रोतले बताएको छ ।
यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका रहेको बताइएको छ ।
प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिसक्ने कार्यतालिका बनोको छ । यो बैठकले आउँदो महाधिवेशनलाई सफल बनाउन देशव्यापी आह्वान गरेको छ ।