काठमाडौं , २२ असार। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)लाई आज (मंगलबार) बोलाएको छलफलमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको सहमतिको सम्भावना ठुङ्गिएको छ । जसपामा अबसँगै बस्ने अवस्था नरहेको ठाकुर पक्षले संकेत दिएको हुँदा पार्टी फूटको संघारमा उभिएको हो ।
निर्वाचन आयोगमा मंगलबार भएको छलफलमा ठकुर पक्षले जसपाबाट अलग हुने धारणा राखेका थिए । ठाकुरलागयत उनी पक्षका नेताहरुले एकै पार्टीमा रहन नसकिने भन्दै आ–आफ्नो बाटो लाग्न उपयुक्त हुने बताएपछि पार्टी फूटको संघारमा पुगेको छ ।
जसपाबाट निष्कासित ठाकुर समूहले जसपामा आफूहरुको दावी रहने भन्दै जिकिर गरेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन अनुरोध गरेको छ । यद्यपी आयोगले एकताको लागि सहमत नभएपछि दुवै पक्षलाई आधिकारिताका लागि दावी पेश गर्न भनेको छ ।
आयोगद्वारा दुवै पक्षलाई राखेर सहमतिका लागि गराएको छलफलमा यादव र ठाकुर पक्ष बिच सहमति हुन सकेन । आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने निर्णय गरेको छ । दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति भएको आयोग स्रोतले जनाएको छ ।
बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी, मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंह लगायतका नेताहरू सहभागी थिए भने ठाकुर पक्षबाट ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा लगायत सहभागी थिए ।