
फाइल तस्वीरः
लिम्बुवानखबर, २५ असार । सरकारले आठ लाख डोज भेरोसेल कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान खोप नेपाल ल्याइएको हो ।
नेपाल सरकारले यसअघि नै चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान नेपाल आईपुगेको हो ।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताएका छन् ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज पहिलो खेप खोप ल्याउन बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने तयारी भईरहेको मन्त्रालयको जनाएको छ ।