
काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत पाएका छन् । आज (आइतबार) राती प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ ।
विश्वासको मतको विपक्षमा भने ८३ मत मात्र खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए भने एक जना तटस्थ बसेका थिए ।
देउवलाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् ।
राप्रपा तटस्थ बस्दा नेपाल मजदुर किसान पार्टीे भने मतदानमा सहभागी भएको थिएन ।
अपराह्न ४ बजे सुरु भएको बैठकको पहिलो चरणमा राष्ट्रपति कार्यालयका पत्रहरू वाचन गरिनुका साथै सरकारले गरेका विभिन्न निर्णयहरू र अध्यादेशबारे सभामुख अग्नि सापकोटाले सदनलाई सूचना दिएका थिए ।
१५ मिनेट रोकिएर बसेको दोस्रो चरणको बैठकमा एमालेका प्रदीप ज्ञवाली, काँग्रेसका डा. मिनेन्द्र रिजाल, माओवादीका प्रचण्ड, जसपाका महन्थ ठाकुर र बाबुराम भट्टराईका साथै राप्रपाका राजेन्द्र लिङदेन, जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले संसदमा मन्तव्य दिएका थिए ।
पाँच घण्टा लामो बहस पश्चात प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका छन् । जसपाका नेता रेशम चौधरीको रिहाई गर्ने लगायतको छलफल पछि जसपाको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । यसैगरी ओली पक्षका चार सांसदले समेत प्रधानमन्त्रीलाई विश्वासको मत थिएका थिए ।