आज ३९औं विपी स्मृति दिवस

 लिम्बुवान न्युज
                       

काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ  विपी स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।

वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी विसं २०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएको थियो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माणको अन्तिम चरणमा छ ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले विसं २०२९ मा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । कोरोनाको जोखिम कायमै रहेकाले यी कार्यक्रम भौतिक दूरी कायम गर्दै वा जुम प्रविधिबाट गर्न पार्टीले निर्देशन दिएको छ । (राससबाट)

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;