दमक, १४ साउन । कोरोना भाइरस संक्रमण दर उच्च रहेको भन्दै झापाको १० वटा पालिकाहरुले कडा निषेधाज्ञा जारी गरेको छ । झापाको दमक, कमल, गौरादह, शिवसताक्षी, कन्काई, विर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, हल्दीबारी र मेचीनगरमा संक्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो ।

फाइल तस्वीरः विर्तामाेड
झापाको पन्ध्र पालिकामध्ये पाँच पालिकाहरु भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा निषेधाज्ञा गर्ने बारे स्थानीय सरकारले छलफल गरिरहेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार झापा जिल्ला भारतसँग जोडिएको हुँदा पछिल्लो समय बढी प्रभावित भएको बताए । सोही अनुरुप संक्रमणलाई हेरेर स्थानीय पालिकाहरुले निषेधाज्ञा गर्ने अधिकार दिइएको हुँदा सोही अनुरुप सिलबन्दी भईरहेको जनाए ।
साथै तिम्सिनाले भने– “सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई सिलबन्दी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको छ ।”
सिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बताउनुभयो ।

फाइल तस्वीरः दमक
झापामा विगत दुई सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । बजार र सरकारी कार्यालयहरुमा सर्वसाधारणको घुइँचो बढेको थियो । हरेक पालिकाले सात दिनको अवधि तोकेर सिलबन्दीको घोषणा गरेका छन् । राजमार्गबाहेक भित्री सडकमा सार्वजनिक तथा निजी यातायातका साधन गुडेका छैनन् ।
जिल्लामा सबैभन्दा पहिले बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्रमा सिलबन्दी घोषणा गरेको थियो । पालिकाहरु सिल गरिए पनि पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधनमा भने रोक नलगाइएको प्रअिज तिम्सिनाले बताउनुभयो ।