काठमाडौं, १४ साउन । नेपालकै सबैभन्दा पूरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टीको आशन्न महाधिवेशनमा केन्द्रित रहेर सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।
नेपाली कांग्रेसले कोरोनाको अवस्था हेरेर महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सम्बन्धमा निर्णय लिने बताएको छ । बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेसँगै आज बसेको बैठकले मिति टुङ्गो लगाउने बताइएको छ ।
कोरोनाको अवस्थाका बारेमा जिल्लाका नेताहरुसँग समेत छलफल भईरहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । आजको बैठक देशव्यापीरुपमा कोरोनाको अवस्था के छ ? भन्नेमा पनि केन्द्रित हुने बताइएको छ ।
कांग्रेस महाधिवेशन आउन अब ३४ दिनमात्रै बाँकी छ । तर, निर्वाचन समितिले कम्तिमा पनि ५३ दिनको समय लाग्ने बताएको छ । यो बेला कसरी सम्पन्न गर्ने भनेर नेताहरुमा दवाव आएको कांग्रेस स्रोतले बताएको छ ।