
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले साउन १६ गते शनिबार पार्टीको संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न पार्टीको तीन दिने केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो ।
शनिबार निर्वाचनको मिति तोकिए पनि पार्टीभित्र हालसम्म संसदीय दलको नेताका लागि आकांक्षीहरु भने देखिएका छैनन् । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको जसपा केन्द्रीय स्रोतले जनाएको छ ।
प्रतिनिधि सभा (सङ्घीय संसद्)मा जसपाका कुल ३४ सांसद रहेकामा २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये पनि १० जना महन्थ ठाकुर समूहमा गएका छन् । अब जसपाले बाँकी रहेका २२ जना सांसदहरु मध्येबाट संसदीय दलको नेता चयन गर्नेछ ।
यसअघि नै बैठकले संसदीय दलको विधान पारित गरेको थियो । स्रोतका अनुसार देउवा सरकारमा उपप्रधानमन्त्रीसहित जिम्मेवारी पाएको अवस्थामा जसपा अध्यक्ष उपेन्द्र यादवको नेताका रूपमा सरकारमा जाने सम्भावना रहेको स्रोतको भनाइ छ ।
तीन दिने बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको बताइएको छ । पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्न नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै केन्द्रीय अनुशासन समितिको संयोजकको जिम्मेवारी नरसिंह चौधरीलाई दिइएको छ । यसअघि सो समितिमा लक्ष्मणलाल कर्ण संयोजक थिए । हाल उनी महन्थ ठाकुर पक्षमा गएका छन् ।