३२ पहिचानवादी संगठनहरुले विराटनगरमा साउन ५ गते जनप्रदर्शन गर्ने

 लिम्बुवान न्युज
                       


विराटनगर, २८ असार । ३२ पहिचानवादी राजनीतिक दल, संस्कृतिक संघ संस्थाहरु सम्मिलित “लिम्बुवान, किरात संयुक्त संघर्ष समिति”ले प्रदेश १ को नाम ‘लिम्बुवान, किरात प्रदेश’ हुनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ।”

किरात याक्थुङ चुम्लुङ प्रदेश समितिको संयोजनमा बनेको संघर्ष समितिले ७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी टुंगो लगाएसँगै दबाबमा रहेको प्रदेश १ सरकारलाई पहिचानको आधारमा नामकरण गर्न भन्दै सोमबार ज्ञापनपत्र बुझाएको हो।

संघर्ष समितिले ज्ञापनपत्रमा प्रदेश नं. २ को नाम पहिचानको आधारमा “मधेश प्रदेश” राखिएको स्मरण गराउँदै नेकपा एमाले, नेपाली काँग्रेसलगायत दलहरू पहिचान बिनाको नामकरण गर्न तयार रहेकोप्रति ध्यानाकर्षण गराएको छ । ०६२/०६३ को जनआन्दोलन, लिम्बुवान आन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेश आन्दोलन, दलित पिछडावर्ग आन्दोलनहरूको जनादेशअनुसार ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानको आधारमा ‘लिम्बुवान, किरात प्रदेश’ नामकरण गर्नुपर्नेमा समितिले जोड दिएको छ ।

संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिश भएबमोजिम पहिचानमा आधारित प्रदेशको नाम सुनिश्चित गर्न संघर्ष समितिले आन्दोलन जारी राख्ने जनाएको छ ।

सघर्ष समितिले साउन ५ गते विराटनगरमा बृहत जनप्रर्दशन गर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ । साथै समितिले असार २८, २९ र ३० गते किराँत याक्थुङ चुम्लुङको जिल्ला कार्य समितिको समन्वयमा जिल्लास्तरीय समिति गठन गर्ने, ३२ गते प्रदेशका सबै जिल्लामा कोणसभा गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

कियाचूको अगुवामा बनेको समितिले सोमबार मुख्यमन्त्रीको कार्यालय, अन्य मन्त्रीहरु, संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुखलगायतलाई ज्ञापनपत्र बुझाएका छन् ।

कार्यक्रममा कियाचू प्रदेश अध्यक्ष मधुराज केरुङकाे अगुवाईमा विभिन्न घटक राजनीतिक दल र संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।संघर्ष समितिले आवश्यकताअनुसार आन्दोलनका थप कार्यक्रम घोषण गर्दै जाने बताएको छ ।

संघर्ष समितिमा नेकपा माओवादी केन्द्र आबद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चलगायत ३२ पहिचानवादी संघ संस्थाको समर्थन रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सत्ता साझेदार नेपाली काँग्रेसले प्रदेशको नाम “सप्तकोशी” प्रस्ताव गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले “कोशी” नाम राख्नुपर्ने अडानमा रहेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...