बाबुराम भट्टराई नयाँ पार्टी खोल्दैः रेणु यादवले दिई राजीनामा

,   लिम्बुवान न्युज
                       


काठमाडौं, लि.ख. । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत् रूपमा फुट्ने भएको छ। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्।
‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव) ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन्।’
काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरू यस्तो निष्कर्षमा पुगेको उनले बताए। ‘केन्द्रीय सदस्यहरूसँगको गम्भीर छलफलपछि आफूहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हौं,’ उनले भने। नयाँ पार्टीको नाम, चुनाव चिह्न, झन्डा, घोषणापत्रबारे शुक्रबारदेखि गम्भीर छलफल सुरु हुने उनको भनाइ छ।
जसपाको ३४ सदस्यीय कार्याकारिणी समितिमा भट्टराईको पक्षमा हिसिला यमी, महेन्द्र यादव, रमेश यादव, डम्मर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा स्वाब, भक्तबहादुर शाह उभिएका छन्। भट्टराई पक्षले बोलाएको विस्तारित बैठकमा यी नेताहरूको उपस्थिति थियो। नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेकाले आफूहरूसँग कतिजना केन्द्रीय सदस्य छन् भन्ने विषय महत्वपूर्ण विषय नभएको सिंहले भने।
‘पार्टी नै नयाँ खोल्ने भएपछि हामीसँग जसपाका कति केन्द्रीय सदस्यहरू छन् भन्ने विषय ठूलो होइन,’ उनले भने। जसपाको दुवै पक्षले एउटै मितिमा छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा औपचारिक रूपमै फुटको अवस्थामा पुगेको हो। दुवै पक्षले आफूले बोलाएको बैठक पार्टीको आधिकारिक भएको र अर्को पक्षले बोलाएको बैठक गुटको बैठक भएको दाबी गर्दै आएका छन्।
कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको कारण जसपामा फुट आएको भट्टराई पक्षधर नेताहरूको भनाइ छ। ‘हामी जसपालाई झनै बलियो बनाउन चाहन्थ्यौं तर कार्यकारिणी अध्यक्षका कारण पार्टी फुटको अवस्थामा पुगेको हो,’ सिंहले भने, ‘कार्यकारिणी अध्यक्षज्यूको चाहना नै पार्टी फुटोस् भन्ने थियो।’
संविधानसभाबाट २०७२ असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलगिएका भट्टराईले २०७३ जेठमा नयाँ शक्ति नेपाल घोषणा गरेका थिए। २०७६ वैशाख २३ गते संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्दै समाजवादी पार्टी नेपाल गठन गरेका थिए। २०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई जसपा गठन भएको उक्त दल २०७८ असार २२ गते फेरि विभाजित भएको थियो।
महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए। लोसपा गठनपछि भट्टराई जसपाका संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा छिन्। तर अहिले यादव र भट्टराईबीच विवाद उत्कर्षमा पुग्दा उनले फेरि नयाँ बाटो समाउनुपर्ने अवस्था आएको छ।

रेणुले दिइन् राजीनामा


जसपाकी कार्यकारिणी समिति सदस्य तथा केन्द्रीय सदस्य रेणु यादवले पदीय जिम्मेवारीबाट राजीनामा दिएकी छन्। उनले बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चिठी लेखेर आफूले पदीय जिम्मेवारीबाट राजीनामा दिएको बताएकी हुन्। आफ्नो व्यक्तिगत कारणबाट पदीय जिम्मेवारीबाट अलग भएको उनको भनाइ छ।
‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेको हुनाले मैले यस जसपासँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,’ अध्यक्ष यादवलाई पठाइएको चिठीमा उनले भनेकी छन्, ‘तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँछु।’ रेणुनिकट स्रोतका अनुसार जसपाले मन्त्री फेरेपछि उनी कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट थिइन्।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;