अलैँची किसानलाई चटारो, उत्पादन बढ्यो, भाउ छैन

 लिम्बुवान खबर
                       

इलाम,पाँचथर। पाँचथर, इलाम, ताप्लेजुङ् जिल्लाकाे बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष उपयुक्त मौसम भएकाले अलैँचीमा उल्लेखीय फल देखिएको छ ।

रोग नदेखिएको र अलैँची राम्रो पाकेकाले उत्पादन दोब्बर हुने अनुमान रहेको माइजोगमाईस्थित मलुमझुवाका किसान राम आचार्य बताउनुहुन्छ । आचार्यका अनुसार यो वर्ष वैशाखदेखि असारसम्म अलैँचीलाई आवश्यक पर्ने पानी परेकाले उत्पादन बढेको हो । “भार्लाङ जातको अलैँची राम्रो फलेको छ”, आचार्यको भनाइ छ ।

विगतका वर्षमा रोगले शिथिल बनाए पनि यस वर्ष अलैँचीमा रोग देखिएको छैन । “टिप्ने र छोडाउने काम एकैचोटी चलेको छ । उत्पादन बढेको छ”, आचार्यले भन्नुभयो । गत वर्ष छ मन (एक मनमा ४० किलो) भएकामा यस वर्ष १० मन अलैँची हुने उहाँको अनुमान छ । उत्पादन बढे पनि अलैँचीको भाउ नआएकाले किसान निराश छन् । खेती प्रविधिमा सुधार गरेर किसानले अलैँचीको उत्पादन बढाए पनि विगतका वर्षमा भन्दा यस वर्ष भाउ खुम्चिएको छ ।

कोरोनाले समस्यामा पारेकाले अलैँचीको प्रतिमन रु ३० हजार पुग्न सकेको छैन । खेतबारीको अधिकांश भागमा अलैँचीखेती नै लगाएकाले बजार मूल्यमा नै बेच्न बाध्य हुनुपरेको माइजोगमाई–१ नयाँबजारका किसान धर्म भट्टराई बताउनुहुन्छ । अलैँचीको तालिमपछि आफूले खेतीमा सुधार ल्याए पनि कम मूल्यमा अलैँची तौलिनुपरेको भट्टराईको दुखेसो छ ।

भट्टराईको यस वर्ष मात्रै १५ मन अलैँची उत्पादन हुने अनुमान छ । तर भाउ रु २० हजारकै अुनपातमा भएकाले आम्दानी धेरै नहुने उहाँ बताउनुहुन्छ । विगतका वर्षमा अलैँची कम उत्पादन हुँदा अलैँचीको भाउ प्रतिमन रु एक लाखसम्म पुगेको थियो तर अहिले भाउ घटे पनि किसानले अलैँची खेती गर्न छाडेका छैनन् । किसानको उल्लेखीय आम्दानी दिने बालीमा पर्ने अलैँचीमा अन्य खेतीको तुलनामा लागत कम पर्छ । त्यसैले वर्षेनी भाउ घटे पनि अलैँचीको उत्पादनमा गिरावट नआउने गरेको रोङ गाउँपालिकाका किसान कुमार मोक्तान बताउनुहुन्छ । गएका वर्षमा पाँच मन हाराहारीमा अलैँची उत्पादन गर्नुभएका मोक्तानको यस वर्ष आठ मन हुने अनुमान छ । त्यसैगरी मिक्लाजुङ् गा.पा. ५ का नारायण लावतीले पनि अचैली गत बर्षभन्दा दोब्बर फलेको तर बजार भाउँ नपाउँदा निरास भएको बताएका छन् । “उनले यो लकडाउन र नाकाबन्द भएपछि किसानहरुलाई ठूलो मर्का परेको बताए ।”

दशकअघि पनि अहिलेजस्तै अलैँची उत्पादन हुन्थ्यो तर बीचका केही वर्ष मासिएपछि सशङ्कित हुँदै किसानले अरू खेतीमा प्राथमिकता दिएका थिए । अहिले भने फेरि किसान अलैँचीमै लागेका छन् । विभिन्न सङ्घसंस्था र स्थानीय सरकारले अलैँचीमा प्रविधि र तालिम ल्याएपछि किसान अलैँचीमा लागेका अलैँची व्यवसायी सङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउनुहुन्छ ।

सीमामा सकस

कोरोनाले नेपालका सीमावर्ती क्षेत्रमा सिल भएपछि अलैँची निर्यातमा समस्या छ । पूर्वी क्षेत्रको मुख्य भन्सार मेची भन्सार काँकडभिट्टा क्षेत्रमा सिल भएकाले अलैँची निर्यातमा सकस परेको व्यवसायीको भनाइ छ । महामारीले भारतीय बजार छिटपुट मात्रै खुला छन् । सदाजस्तो खुला नभएकाले थोरै परिमाणमा मात्र अलैँची निर्यात भइरहेको अलैँची व्यवसायी सङ्घका सचिव मातृका घिमिरेले बताउनुभयो ।

नेपालबाट जाने अलैँची भारत भएर नै तेस्रो मुलुक जान्छ । केही समयअघि भारतले अघोषित नाकाबन्दी गरेकाले १४ दिनसम्म अलैँचीलगायत कृषिजन्य पदार्थ नेपालतर्फ थन्कियो । यस्ता समस्या वर्षैपिच्छे आउँदा ठूलो रकम चुना लाग्ने गरेको व्यवसायीको भनाइ छ । व्यवसायी घिमिरेका अनुसार भारतले नेपाली अलैँचीको गुणस्तर घटाउन अनेक तिकडम लाउने गरेको छ । नेपाल सरकारको पहल उचित नहुँदा नेपाली अलैँचीको गुणस्तर विश्व बजारमा पु¥याउन नसकिएको उहाँको भनाइ छ ।

नेपाली अलैँचीको गुणस्तर अन्य ठाउँको भन्दा राम्रो हुँदा पनि कम मूल्यमा बेच्नुपरेकाले राष्ट्रलाई आम्दानीमा घाटा परेको घिमिरेको भनाइ छ । आव २०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलो अलैँची नेपालबाट निकासी भएको वैदेशिक रोजगार तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ ।

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...