लिम्बुवानखबर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्नलाई औपचारिक रुपमा प्रस्ताव पेश गरेको छ । एन्फाले शनिबार विस्तृत योजना तयार गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा साफ आयोजनाका लागि प्रस्ताव पेश गरेको हो ।
प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जनाएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको हो ।
एन्फाले साफ आयोजनाको लागि कुल १० करोड रुपैयाँ खर्च हुने जनाएको छ । जसमा संघीय सरकारले साफ आयोजनाको लागि ५ करोड दिने निर्णय गरिसकेको छ ।
नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिपको आयोजना गरिसकेको छ । नेपालले सन् १९९७ र २०१३ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो ।
नेपालसँगै माल्दिभ्सले पनि साफ आयोजनाका लागि शनिबार नै प्रस्ताव पेश गरेको छ । साफ च्याम्पियनसिप अक्टोबरको पहिलो हप्ता आयोजनाको लागि तयारी गरिएको छ ।
Related