काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निकाल्न गरेको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । ५१ सदस्यीय कार्यकारिणी समिति रहेको जसपामा अब ३५ जना कार्यकारिणी सदस्यको नाम मात्र अद्यावधिक गरिएको हो ।
यहि साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यकारिणी समितिको अद्यावधिक गर्न आयोगमा पत्र पठाएका थिए ।
अब अर्का अध्यक्ष ठाकुरको अध्यक्ष समेत स्वत समाप्त भएको छ भने उनीसँगै रहेका १६ जना कार्यकारिणी सदस्यहरु जसपाको साधारण सदस्यमात्रै रहने भएको छ ।
सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जसपाको निर्णयलाई अद्यावधिक गरिएको जनाएका छन् ।
निर्वाचन ऐनको ‘दफा–५१ बमोजिम हेरफेर अद्यावधिक गरिएको हो । त्यो सबै नियम अनुसार गरेको हो,’ आयुक्त थपलियाले भनेका छन् ।
यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ । आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाम पनि केन्द्रीय कार्यकारिणी समितिमा रहेका छन् ।
एक नेताका अनुसार पार्टीको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएपछि के गर्ने भन्नेबारे पार्टीमा अझै छलफल भइसकेको छैन । पार्टीको साधारण सदस्य कायम नै रहेको हुँदा हाल संसद पद यथावत रहने यद्यपी वहाँहरुले ४० प्रतिशत संसद र कार्यकारिणी समिति नपु¥याई नयाँ दल दर्ता गर्नुभयो भने संसद पद स्वत जानेछ ।
भदौ १ र २ मा केन्द्रीय समितिको बैठक
जसपाले भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । यो बैठकमा भदौदेखि मंसिरसम्म चार महिने संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव समेत पेश गर्ने बताइएको छ ।
पार्टीको विधानमा केन्द्रीय समिति ८०० सदस्यीय हुने भनिएपनि हाल ७७९ जना मात्र रहेका छन् । त्यसमा ५०० भन्दा बढी केन्द्रीय सदस्यहरु पार्टीको मुल धारमा आएको जसपाका नेताहरुको जिकीर रहेको छ ।