
लेटाङ् । मोरङको लेटाङ ३ मा बस्दै आएका अमित लिम्बुले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । बर्ष २७ का लिम्बु २ बर्ष साउदी अरबमा बसेर फर्कने क्रममा आन्द्राको क्यान्सर देखापरेपछि हाल उपचारको लागि याचना गरेका हुन् ।
गत २०७७ साल मंसिरमा साउदीबाट घर फर्किएपछि निरन्तर उपचारमा रहेका लिम्बुको हालसम्म १५ लाख भन्दा धेरै खर्च भएको विरामीका मामा जीवन लिम्बुले बताए । घरको आर्थिक अवस्था कम्जोर भएका लिम्बुको काठमाडौंको धुलिखेल, भक्तपुर क्यान्सर अस्पताल, चितवनको भरतपुर क्यान्यसर अस्पताल, चितवन मेडिकल कलेज, विराट मेडिकल कलेज विराटनगर र झापा विर्तामोडको बि एण्ड सी अस्पतालमा पटक–पटक उपचार र अप्रेशन गरिएको हुँदा आर्थिक अभाव भएको लिम्बु बताउँछन् ।

अप्रेशनको क्रममा आन्द्रा काटिएपछि कृत्रिम पाइपबाट पेट चिरेर दिशा जाने बाहिर एउटा ब्याग राखेर उपचार भईरहेको पिढीत लिम्बु बताउँछन् । कलिलो उमेरमा सोच्दै नसोचेको रोगले सताएपछि परिवारमा चिन्ता थपिएको उनले बताए । विवाहित लिम्बुको श्रीमती र २ छोरीहरु रहेको आमा विष्णु कुमारी लिम्बुले बताइन् ।
सामान्य परिवारमा जन्मिएका लिम्बुको परिवारमा यतिबेला खर्चको अभाव भएको हुँदा आर्थिक सहयोगको समेत अपिल गरिएको बिरामीका मामाले बताए । घरमा खान र बस्न नै धौधौ परिरहेको बेला लाखौं रकम खर्च सक्दा समेत विरामी निको हुने अवस्था नभएकोहुँदा अब थप खर्च कहाँबाट जुटाउने भनेर पिढा थपिएको उनले बताए ।
विरामी बारे थप जानकारी लिन इच्छुकले विरामीको मामा जीवन लिम्बुको मोवाइल नम्बर ९८१८२६६८०० नम्बरमा सिधै सम्पर्क गर्न समेत अपिल गरेका छन् ।