दमक रंगशालाको छानबिन प्रतिवेदन अख्तियारमा, टेन्डर प्रक्रियासंगत नभएको निष्कर्ष

 लिम्बुवान न्युज
                       

काठमाडाैं। झापाको दमकमा मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माणको टेन्डर प्रक्रियासंगत नभएको निष्कर्षसहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पुगेको छ ।

सार्वजनिक खरिद ऐनविपरीत आर्थिक प्रतिस्पर्धाविनै चार अर्ब ३३ करोडमा ठेक्का दिने अन्तिम तयारी भएपछि अख्तियारको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले कार्यदल नै बनाएर छानबिन गरेको थियो । मन्त्रालयका सहसचिव डा.कमल पोखरेलको नेतृत्वमा तीन सदस्यीय कार्यदलले निषेधाज्ञामा प्रस्ताव पेसको म्याद नथपेको विषयलाई प्रक्रियासंगत मान्न नसकिने निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

‘खेलकुद मन्त्रालयबाट प्राप्त प्रतिवेदन हेर्दा कुनै निश्चित कम्पनीलाई ठेक्का दिने गरी निषेधाज्ञामा टेन्डर आह्वान भएको र आर्थिक प्रतिस्पर्धाबाट वञ्चित गराएको आशंका देखियो,’ अख्तियार स्रोतले भन्यो, ‘निषेधाज्ञामा टेन्डर आह्वान र ग्लोबल टेन्डर गर्नुपर्नेमा राष्ट्रियस्तर टेन्डरको विषयमा छानबिन हुँदै छ ।’

राष्ट्रिय खेलकुद परिषद्ले चार अर्ब ४० करोड लागत अनुमान गरी रंगशाला निर्माणका लागि निषेधाज्ञाकै दिन अर्थात् १६ वैशाखमा टेन्डर आह्वान गरेको थियो । मुन्ना एन्ड आचार्य कन्स्ट्रक्सन, अल्कोर र ग्रेट स्पोर्टस् टेक ज्वाइन्ट भेन्चरलाई ठेक्का दिन आसयपत्र (लेटर अफ इन्टेन्ट) २३ असारमा जारी गरेको थियो । सोहीकारण मुन्ना एन्ड आचार्य कन्स्ट्रक्सन, अल्कोर र ग्रेट स्पोर्टस् टेक ज्वाइन्ट भेन्चरबाहेकका कम्पनी ठेक्का प्रक्रियामा सहभागी हुन नै नपाएको र राखेपका कारण आर्थिक प्रतिस्पर्धा नहुँदा रंगशालाको लागत बढेको उजुरी अख्तियारमा परेको थियो ।

१६ वैशाखमा बोलपत्र आह्वान गरेपछि राखेपले ६ जेठमा बोलपत्रपूर्वको बैठक आह्वान गरेको थियो । जसमा कालिका कन्स्ट्रक्सन, किराँतेश्वर कन्स्ट्रक्सन, एमएन कन्स्ट्रक्सन, मुन्ना एन्ड आचार्य र एक चिनियाँ कम्पनी सहभागी थिए । तर, निषेधाज्ञाका बीचमा नोटरी पब्लिकलगायत बोलपत्रका अन्य कागजपत्र तयार गर्न नसक्दा यी कम्पनीले प्रस्ताव हाल्न सकेनन् । राखेपको योजनाअनुसार मुन्ना एन्ड आचार्यको मात्रै प्रस्ताव प¥यो । ‘निषेधाज्ञामा घरबाहिर निस्कन पनि बन्देज थियो, कसरी बोलपत्रका कागजात तयार गर्नु र प्रक्रियामा भाग लिनु ?’ किराँतेश्वर कन्स्ट्रक्सनका प्रमुख सनकसिंह राईले यसअघि नयाँ पत्रिकालाई भनेका थिए, ‘राखेपले योजनाबद्ध रुपमै त्यस्तो गर्न खोजेको थियो ।’

राखेपले लागत रकमको १ दशमलव ६ प्रतिशत अर्थात् सात करोड मात्रै घटेर चार अर्ब ३३ करोड ५८ लाखमा मुन्ना एन्ड आचार्य कन्स्ट्रक्सन, अल्कोर र ग्रेट स्पोर्टस् टेक ज्वाइन्ट भेन्चरलाई ठेक्का दिने अन्तिम तयारी गरेका वेला अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रले छुट्टाछुट्टै छानबिन गरिरहेका हुन् ।

सार्वजनिक खरिद ऐनमा एक अर्बभन्दा माथिका ठेक्काका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था छ । तर, राखेपले राष्ट्रिय प्रतिस्पर्धाका लागि बोलपत्र आह्वान गरेको थियो । यसबारे अख्तियारले छानबिन गरिरहेको छ । त्यस्तै, रंगशाला निर्माणस्थल सामुदायिक वनको रहे पनि जग्गा प्राप्ति भइसकेको छैन । सामुदायिक वनको जग्गा प्राप्तिका लागि संघको मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ । खेलकुद मन्त्रालयका एक अधिकारीले ‘मन्त्रालयबाट छानबिन प्रतिवेदन अख्तियार पुगेको र अख्तियारको निर्देशनअनुसार कारबाही हुने’ बताए । (आजको नयाँपत्रिका दैनिकमा खबर छ)

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...