फोनिजद्वारा चार पत्रकार पुरस्कृत र संचार संस्था सम्मानित हुँदै
मङ्गलबार, २४ साउन, २०७९ रातीको १०:१६ बजे,
लिम्बुवान न्युज
काठमाडौं , २४ साउन ।नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार पत्रकारले पाउने भएका छन् ।
फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको पुरस्कार छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ हाइलाइट्स टुरिजमका क्रीएटीभ सम्पादक अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई प्रदान गरिने छ ।
त्यस्तै यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरिने भएको छ । बुङ्वाखाले बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुर्याउँदै आएको छ ।
पुरस्कार र सम्मान फोनिजको २३औँ स्थापना दिवसका अवसरमा साउन २७ गते काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रदान गरिने छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति पत्रकारिता पुरस्कार-२०७९’ र ‘फोनिज मातृभाषा सम्मान-२०७९’ प्राप्त गर्नुहुने व्यक्ति तथा संस्थाको पेशागत तथा संस्थागत विवरण
१. गोपाल देवाल, सुनसरी
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९) सुनसरी कर्मथलो बनाएर २०४२ सालबाट साहित्यिक पत्रिका ‘काँचुली’बाट पत्रकारिता सुरु गर्नुभएका गोपाल देवानले पत्रकारितामा तीन दशक बढी समय व्यतित गरिसक्नुभएको छ । हाल उहाँ ‘विश्वस्त सूत्र साप्ताहिक’को सम्पादक तथा प्रकाशक हुनुहुन्छ । दृष्टि साप्ताहिकलगायत दर्जनभन्दा धेरै सञ्चारमाध्यममा काम गरेको अनुभव देवानसँग छ । उहाँले धरानको ब्लाष्ट टाइम्स दैनिकका संस्थापक सम्पादक भएर समेत काम गरिसक्नुभएको छ । साहित्यमा ‘अविराम क्रान्ति’ नामले परिचित उहाँ ‘आरम्भ नाट्य डबली’को अध्यक्षसमेत हुनुहुन्छ ।
२. अनिता गुरुङ, काठमाडौँ
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९) हाइलाइट्स टुरिजम डटकमको कार्यकारी सम्पादक अनिता गुरुङले २०५६ सालमा ‘रेडियो सगरमाथा’बाट पत्रकारिता सुरु गर्नुभएको हो । सगरमाथा टेलिभिजनमा करिब १० वर्ष नेतृत्वदायी भूमिकामा काम गर्नुभएका उहाँ लामो समयदेखि गोरखापत्र दैनिकको गुरुङ भाषा पृष्ठ संयोजकका रूपमा कार्यरत हुनुहुन्छ । फोनिजका निवर्तमान सल्लाहकार गुरुङले रेडियो नेपालमा मिडियाविज्ञ भएर काम गर्नुभएको छ । पत्रकारिता क्षेत्रमा बहुआयामिक छवि बनाउनुभएका अनिता गुरुङले सञ्चारजन्य विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।
३. राजु चौधरी, चितवन
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९) चितवनलाई आधार बनाएर पत्रकारितामा क्रियाशील राजु चौधरीले २०६७ सालमा कायाकैरन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो । २०७२ सालसम्म कायाकैरनमा काम गर्नुभयो । अभियान टेलिभिजन, रेडियो अर्पण, नमस्ते टेलिभिजन र रेडियो ध्रुवतारामा समेत उहाँले काम गरिसक्नुभएको छ । २०७० देखि २०७५ सालसम्म चितवनबाट इमेज टेलिभिजनमा आवद्ध भएर काम गर्नुभयो । हाल कान्तिपुर टेलिभिजनको चितवन संवाददाताका रूपमा काम गरिरहनुभएको छ । उहाँ फोनिजको निवर्तमान संघीय सदस्यसमेत हुनुहुन्छ ।
४. अप्सरा समाल, उदयपुर
(आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९) अप्सरा समाल उदयपुरमा रहेर लामो समयदेखि रेडियो पत्रकारित गरिरहनुभएको छ । समालसँग सामुदायिक रेडियो उदयपुरमा पाँच वर्ष कार्यक्रम संयोजक तथा समाचार प्रमुखका रुपमा काम गरेको अनुभव छ । उहाँले सोही रेडियोमा चार वर्ष स्टेशन मेनेजर भएर कुशलतापूर्वक नेतृत्व गर्नुभएको छ । फोनिज उदयपुरको अध्यक्ष हुँदै हाल प्रदेश १ को उपाध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न पत्रकारजन्य संस्थामा समेत आबद्ध हुनुहुन्छ ।
५. बुङ्वाखा मासिक
(फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९) बुङ्वाखा बान्तावा राई भाषामा प्रकाशन भइरहेको मासिक पत्रिका हो । २०६१ मङ्सिर २४ गते स्थापना भई पुसदेखि निरन्तर प्रकाशनकामा रहेको बुङ्वाखाको हालसम्म २०८ पूर्णाङ्क प्रकाशित भइसकेको छ । बुङ्वाखामार्फत बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुगेको छ । मातृभाषा पत्रकारितामा उल्लेख्य योगदान गरेवापत ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार–२०७० प्राप्त गरिसकेको बुङ्वाखा प्रेस काउन्सिल नेपालको वर्गीकरणमा १० वर्षदेखि नियमितरूपमा ‘क’ वर्गमा रहँदै आएको छ । (दृष्टि अनलाइनबाट साभार)
विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...
झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...
दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...