नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

 लिम्बुवान खबर
                       

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन– ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो ।

नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन–५ मा रोक लगाउने निर्देशन दिएको हो । केन्द्रमा भने कुनै रोक लगाइएको छैन ।  पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल लामा, सुरेश वाग्ले, कृष्णसेन इच्छुक मोतीदेवी, सहाना प्रधान, झलनाथ खनाललगायत नाममा त्यस्ता संस्था खोलिएका छन् । तिनमध्ये केहीका केन्द्रमा मात्र र केहीका जिल्लाहरुमा पनि शाखा खोलिएका छन् ।

“पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्थाहरु परिचालित छन् । तीमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानलाई नियमन गर्न जरुरी छ” अन्तरपार्टी निर्देशन– ५ मा भनिएको छ । पार्टी सचिवालय बैठकले प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएर प्रतिवेदन सार्वजनिक नगरेसम्म तिनका शाखा गठन र गतिविधि नगर्न निर्देशन दिएको हो ।

अन्तरपार्टी निर्देशन– ५ मा सचिवालयले प्रतिष्ठानको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहितको कार्यदल गठन गर्ने उल्लेख गरिएको छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसमाथि छलफल गरी प्रतिष्ठानबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।

नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेताका नाममा प्रतिष्ठान खोल्नु राम्रो भए पनि त्यसबाट पार्टीलाई नै नोक्सान पु¥याउने किसिमको गुटबन्दी गर्न नहुने बताए । उनले नेताका नाममा खोलिएका अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अङ्कुश लगाउनुपरेको स्पष्ट पारे ।  “नेताका नाममा खोलिएका प्रतिष्ठानले तिनै नेताको विचार र आदर्शलाई प्रचारप्रसार र तिनले पु¥याएको योगदानको चर्चा गर्दै वैचारिक बहस गर्नुपर्ने हो ”, उनले भने, “तर त्यसरी खोलिएका प्रतिष्ठानले  नेताहको विचार र आदर्शलाई भुलेर पार्टीभित्र गुटबन्दी गर्न थालेकाले व्यवस्थित बनाउन अहिलेलाई रोक लगाइएको हो ।”

उनले प्रतिष्ठानले पार्टीको नीति बाहिर रहेर समानान्तर गतिविधि सञ्चालन गर्न थालेकाले व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले नेताका नाममा स्थापना हुने प्रतिष्ठानलाई पार्टी मातहत ल्याएर सञ्चालन गर्नुपर्ने धारणा पनि राखे ।  तत्कालीन नेकपा (एमाले)ले पनि प्रतिष्ठानलाई व्यवस्थित बनाउनका लागि भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।  उक्त कार्यदलले तयार पारेको ‘प्रतिष्ठान सञ्चालन निर्देशिका’ प्रतिवेदन केन्द्रीय कमिटीमा बुझाउन नपाएको उनले गुनासो गरे । उनी आफूले त्यतिबेला प्रतिवेदन बुझाउन पाएको भए प्रतिष्ठानलाई व्यवस्थित गर्न सकिने बताउँछन् ।

उनका अनुसार उक्त निर्देशिकामा प्रतिष्ठान पार्टी मातहत सञ्चालन गर्नका लागि प्रतिष्ठान समन्वय कमिटी गठन गर्ने उल्लेख  थियो । पूर्वएमाले र माओवादी पार्टीले निर्णय गरेर प्रतिष्ठान वा सङ्घसंस्था स्थापना गरेका छन् । कतिपय नेताले आफूखुशी दिवङ्गत नेताका नाममा प्रतिष्ठान, फाउण्डेशन र अध्ययन केन्द्र जस्ता स्थापना गर्ने गरेको पाइएको छ ।

अर्का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीका नेताका नाममा प्रतिष्ठान वा कुनै सङ्घसंस्था स्थापना गर्नु आवश्यक रहे पनि त्यसका नाममा पार्टीभित्र गुटबन्दी गर्नु पार्टीकै हित विपरीत हुने बताए । उनी प्रतिष्ठानलाई पार्टीकै गतिविधि नगरी गैरराजनीतिक क्रियाकलाप गर्न छुट दिनुपर्ने सुझाव दिन्छन् । पार्टीभित्र विद्यमान प्रतिष्ठानले गुटबन्दी गरेकाले त्यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ । (Ratopati)

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...