एकका लागि एक अभियानको अगुवाईमा स्थापित पिसिआर ल्याब उद्घाटन

 लिम्बुवान खबर
                       

बिर्तामोड। झापामा एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको उद्घाटन भएको छ ।

बुधबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कन्काई कोटिहोमस्थित समर्पण भवनमा स्थापना भएको प्रयोगशालाको उद्घाटन गरेका हुन् ।

एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट स्थापित प्रयोगशाला प्रदेश १ सरकारअन्तर्गत मेची अस्पताल मातहतमा रहनेछ । अभियानले केही दिनअघि अस्पताललाई प्रयोगशाला हस्तान्तरण बारे सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक सम्पूर्ण उपकरणका खरिद गरेर सञ्चालनको अवस्थामा पुर्याएर सरकारलाई जिम्मा लगाइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए । करिब एक करोड रुपैयाँको लागतमा अभियानले प्रयोगशाला निर्माण गरेको हो ।

अमेरिकामा बनेको सो मेसिन अत्याधुनिक रहेको छ । कार्यक्रममा संयोजक गिरीले सरकारलाई सहयोग पुग्ने हिसाबले रेडक्रससँगको सहकार्यमा प्लाज्मा संकलनका लागि पनि अभियानले सहयोग पुर्याउने जानकारी दिए ।

प्रयोगशाला उद्घाटनपछि प्रमुख अतिथि प्यासीले अभियानको प्रशंसा गरेका थिए । सरकारले गर्नुपर्ने काम नागरिकले गरेर देखाउनु अनुकरणीय रहेको उनले बताए । कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जनस्तरबाट सुरु गरिएका कोरोनाविरुद्धको अभियानमा सबै राजनीतिक दल, संघसंस्था र सरकारले साथ दिनुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले ल्याबलाई अन्य बेला पनि प्रयोग गर्न मिल्ने बहुउपयोगी बनाउन सकिने खालको प्रस्ताव ल्याउन आग्रह गरे । प्रदेश सरकारले सोका लागि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अभियानका सहसंयोजक विनाद बस्नेतले सरकारले आह्वान गरे योभन्दा पनि ठुलो काम गर्न अभियान तयार रहेको बताए । प्रयोगशाला स्थापना र सञ्चालन रोक्न केही व्यक्तिहरु लागिपरेकोप्रति इंगित गर्दै बस्नेतले असल भावले गरेको काममा कसैको अवरोध नटिक्ने बताए ।

पत्रकार एकराज गिरीले सहजीकरण गरेको कार्यक्रममा नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेशसभा सदस्य हिरा थापा, कन्काई नगरप्रमुख राजेन्द्र पोखरेल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, कांग्रेस झापा सभापति उद्धव थापा, जसपा झापा अध्यक्ष अनुतलाल राजवंशीले प्रयोगशाला स्थापनाका लागि अभियानलाई धन्यवाद दिएका थिए ।

सो प्रयोगशालामा एक हजारभन्दा बढी कोरोना भाइरसको नमुना परीक्षण भइसकेको छ । मेची अस्पतालको प्रयोगशाला भने किट अभावमा केही दिन चलेर बन्द भएको छ । कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेल विश्वकर्माले गरेका थिए ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...