जसपा : पार्टी छ, केन्द्रीय समिति छैन

 लिम्बुवान खबर
                       

५ असोज, काठमाडौं । समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)ले पार्टी एकताको पाँच महिनामा पनि केन्द्रीय समिति गठन गर्न सकेको छैन ।

जबकि जसपा केन्द्रीय कार्यकारीणी समितिले आगामी मंसिर मसान्तभित्र पार्टी समायोजनका सम्पूर्ण काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ । कार्यकारिणी समितिले निर्धारण गरेको समय सीमा घर्किन तीन महिनाभन्दा कम समय बाँकी छँदा समाजयोजन प्रक्रिया सुरु गर्न नगरी नहुने काम नै सकसपूर्ण बनेको छ ।

खासगरी राजपाभित्रको भागबन्डाको राजनीतिले केन्द्रीय समिति गठन पेचिलो बनेको जसपा नेताहरू बताउँछन् । मधेस केन्द्रित ६ दल मिलेर ८ वैशाख २०७४ मा बनेको राजपाले तीन वर्ष भागबण्डाकै राजनीति गरेको थियो ।

केन्द्रदेखि जिल्लासम्म ६ वटै पार्टीका एकएक जना रहेको अध्यक्ष मण्डल बनाएको राजपाले समायोजनको काम गर्न सकेन । महाधिवेशन गर्ने भनेर पटकपटक महाधिवेशनको मिति तोकेर पनि गर्न नसकेको राजपाले १० वैशाख २०७७ मा सपासँग पार्टी एकता गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल फुटाउन मिल्ने अध्यादेश ल्याएपछि सपा फुटको संघारमा पुग्यो । त्यसैको प्रतिक्रिया स्वरुप राजपा र सपाले १० वैशाख मध्यराती हतार–हतार पार्टी एकता घोषणा गरेका थिए ।

सपाबाट ३५१ र राजपाबाट ३५० गरी ७०१ सदस्यीय जसपा केन्द्रीय समिति बनाउने सहमति भइसकेको छ । तर तत्कालीन राजपातिर भागवण्डा मिलाउनै हम्मेहम्मे परेको छ । स्रोतका अनुसार जसपाका अध्यक्ष समेत रहेका महन्थ ठाकुरले कार्यकारीणी समिति गठन गर्दा गरिएको भागवण्डाकै अनुपातमा केन्द्रीय सदस्यहरू लिने प्रस्ताव गरेका थिए ।

साविक राजपाभित्रै भागबन्डाको खेल

कार्यकारीणी समितिमा राजपाले २६ जना पठाउँदा ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबाट ८/८, शरदसिंह भण्डारी र महेन्द्र रायका ३/३ र अनिल झा र राजकिशोर यादव पक्षबाट २/२ जना थिए । यही अनुपातमा केन्द्रीय सदस्य छनोट गर्ने हो भने ठाकुर र महतोले १०७/१०७, भण्डारी र रायले ४०/४० र झा र यादवले २७/२७ जना पाउने छन् । तर धेरैले यसमा सहमति जनाएनन् ।

एक नेताका अनुसार सहमतिको प्रयासमा ठाकुर र महतोले ९५/९५ केन्द्रीय सदस्य लिने प्रस्ताव गरेका छन् । यसो गर्दा भण्डारी र रायले ४४/४४ र झा र यादवले ३०/३० जना पाउने छन् । एकतामा आएका जनमुक्ति, जनशक्ति र खम्बुवान समूहबाट १२ जना केन्द्रीय सदस्य दिने नयाँ प्रस्ताव छ ।

यसमा शरदसिंह भण्डारी समूह सहमत भएको छ । ठाकुर, महतो र भण्डारीले आफ्नोतर्फबाट केन्द्रीय समितिमा जाने नेताहरूको नामको सूची समेत बताएका छन् ।

तर, तीन नेता सहमत भएका छैनन् । ‘उहाँहरुले सुरुमा नाम दिन्नौं भन्नु भएको थियो । पछि दुबै अध्यक्षको रोहबरमा बुझाउँछौं भन्नु भएको छ’ तत्कालीन राजपाका एक नेता भन्छन्, ‘उहाँहरूले बनाएको सूचीमा कति नाम छ थाहा छैन ।’

साविक सपाका एक केन्द्रीय कार्यकारिणी सदस्य आफ्नो समूहबाट केन्द्रीय सदस्य बन्नेहरूको नाममा कुनै विवाद नरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘सपाबाट ५०–६० जनाको नाम हटाउनुपर्ने हो त्यसमा खासै विवाद छैन ।’

ती सदस्यका अनुसार सपातर्फ केन्द्रीय सदस्य मात्र होइन, संघीय परिषदमा रहनेहरूकै नाम समेत लगभग तय भइसकेको छ ।

केही दिनमै केन्द्रीय समिति : यादव

जसपा नेता महेन्द्रराय यादव केन्द्रीय सदस्य चयन भईरहेको छलफललाई अस्वभाविक रुपमा लिन नहुने बताउँछन् । उनी भन्छन्, ‘धेरै साथीहरूले म केन्द्रीय समिति बसेर काम गर्छु भन्नुलाई नकारात्मक रुपमा लिनु जरुरी छैन, जसपामा एकसे एक नेताहरू केन्द्रीय सदस्य बन्न योग्य रहेछन् भनेर बुझ्नुस् न ।’

साविक राजपाको अध्यक्ष मण्डल संयोजक रहीसकेका नेता यादव केही दिनभित्रै केन्द्रीय समिति गठन हुने बताउँछन् ।

जसपा नेताहरूका अनुसार केन्द्रीय समिति र संघीय परिषद् गठनपछि मात्र अरु समायोजनको प्रक्रिया सुरु हुन्छ । यो पनि सहज भने छैन । खासगरी प्रदेश २ को संसदीय दलको नेतामा चयन पेचिलो बन्ने देखिन्छ ।

प्रतिनिधिसभामा संसदीय दलको नेता राजेन्द्र महतोको चर्चा छ । ठाकुर र उपेन्द्र यादव कार्यकारी अध्यक्ष र डा. बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष बनाउने र महतोलाई सबैले संसदीय दलको नेता स्वीकार गर्नसक्ने बताइएको छ ।

के होला प्रदेश २ सरकार ?

प्रदेश २ मा संसदीय दलको नेता मुख्यमन्त्री हुने भएकाले यसमा सहमति जुटाउन कठिन रहेको एक नेताले बताए । प्रदेश २ मा सपा र राजपाले लालबाबु राउतको नेतृत्वमा गठबन्धन सरकार बनाएका थिए ।

साविक सपाबाट मुख्यमन्त्री बनेका राउतको कामप्रति राजपाका नेताहरू सन्तुष्ट छैनन् । तर जसपा अध्यक्ष यादव मुख्यमन्त्री फेर्ने पक्षमा देखिएका छैनन् ।

एक नेताका अनुसार प्रदेश २ मा संसदीय दलको संसदीय दलको नेता चयनपछि मात्र जिल्लामा समायोजन अगाडि बढ्छ । तर केन्द्रीय समिति गठनदेखि प्रदेश २ को संसदीय दलको नेता चयनसम्मका काम सहज नभएकाले मंसिरको डेडलाइन पुरा नहुने देखिएको जसपाका एक नेता बताउँछन् । (Onlinekhabar)

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...