जसपा : पार्टी छ, केन्द्रीय समिति छैन

 लिम्बुवान खबर
                       

५ असोज, काठमाडौं । समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)ले पार्टी एकताको पाँच महिनामा पनि केन्द्रीय समिति गठन गर्न सकेको छैन ।

जबकि जसपा केन्द्रीय कार्यकारीणी समितिले आगामी मंसिर मसान्तभित्र पार्टी समायोजनका सम्पूर्ण काम सम्पन्न गरिसक्ने निर्णय गरेको छ । कार्यकारिणी समितिले निर्धारण गरेको समय सीमा घर्किन तीन महिनाभन्दा कम समय बाँकी छँदा समाजयोजन प्रक्रिया सुरु गर्न नगरी नहुने काम नै सकसपूर्ण बनेको छ ।

खासगरी राजपाभित्रको भागबन्डाको राजनीतिले केन्द्रीय समिति गठन पेचिलो बनेको जसपा नेताहरू बताउँछन् । मधेस केन्द्रित ६ दल मिलेर ८ वैशाख २०७४ मा बनेको राजपाले तीन वर्ष भागबण्डाकै राजनीति गरेको थियो ।

केन्द्रदेखि जिल्लासम्म ६ वटै पार्टीका एकएक जना रहेको अध्यक्ष मण्डल बनाएको राजपाले समायोजनको काम गर्न सकेन । महाधिवेशन गर्ने भनेर पटकपटक महाधिवेशनको मिति तोकेर पनि गर्न नसकेको राजपाले १० वैशाख २०७७ मा सपासँग पार्टी एकता गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल फुटाउन मिल्ने अध्यादेश ल्याएपछि सपा फुटको संघारमा पुग्यो । त्यसैको प्रतिक्रिया स्वरुप राजपा र सपाले १० वैशाख मध्यराती हतार–हतार पार्टी एकता घोषणा गरेका थिए ।

सपाबाट ३५१ र राजपाबाट ३५० गरी ७०१ सदस्यीय जसपा केन्द्रीय समिति बनाउने सहमति भइसकेको छ । तर तत्कालीन राजपातिर भागवण्डा मिलाउनै हम्मेहम्मे परेको छ । स्रोतका अनुसार जसपाका अध्यक्ष समेत रहेका महन्थ ठाकुरले कार्यकारीणी समिति गठन गर्दा गरिएको भागवण्डाकै अनुपातमा केन्द्रीय सदस्यहरू लिने प्रस्ताव गरेका थिए ।

साविक राजपाभित्रै भागबन्डाको खेल

कार्यकारीणी समितिमा राजपाले २६ जना पठाउँदा ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबाट ८/८, शरदसिंह भण्डारी र महेन्द्र रायका ३/३ र अनिल झा र राजकिशोर यादव पक्षबाट २/२ जना थिए । यही अनुपातमा केन्द्रीय सदस्य छनोट गर्ने हो भने ठाकुर र महतोले १०७/१०७, भण्डारी र रायले ४०/४० र झा र यादवले २७/२७ जना पाउने छन् । तर धेरैले यसमा सहमति जनाएनन् ।

एक नेताका अनुसार सहमतिको प्रयासमा ठाकुर र महतोले ९५/९५ केन्द्रीय सदस्य लिने प्रस्ताव गरेका छन् । यसो गर्दा भण्डारी र रायले ४४/४४ र झा र यादवले ३०/३० जना पाउने छन् । एकतामा आएका जनमुक्ति, जनशक्ति र खम्बुवान समूहबाट १२ जना केन्द्रीय सदस्य दिने नयाँ प्रस्ताव छ ।

यसमा शरदसिंह भण्डारी समूह सहमत भएको छ । ठाकुर, महतो र भण्डारीले आफ्नोतर्फबाट केन्द्रीय समितिमा जाने नेताहरूको नामको सूची समेत बताएका छन् ।

तर, तीन नेता सहमत भएका छैनन् । ‘उहाँहरुले सुरुमा नाम दिन्नौं भन्नु भएको थियो । पछि दुबै अध्यक्षको रोहबरमा बुझाउँछौं भन्नु भएको छ’ तत्कालीन राजपाका एक नेता भन्छन्, ‘उहाँहरूले बनाएको सूचीमा कति नाम छ थाहा छैन ।’

साविक सपाका एक केन्द्रीय कार्यकारिणी सदस्य आफ्नो समूहबाट केन्द्रीय सदस्य बन्नेहरूको नाममा कुनै विवाद नरहेको दाबी गर्छन् । उनी भन्छन्, ‘सपाबाट ५०–६० जनाको नाम हटाउनुपर्ने हो त्यसमा खासै विवाद छैन ।’

ती सदस्यका अनुसार सपातर्फ केन्द्रीय सदस्य मात्र होइन, संघीय परिषदमा रहनेहरूकै नाम समेत लगभग तय भइसकेको छ ।

केही दिनमै केन्द्रीय समिति : यादव

जसपा नेता महेन्द्रराय यादव केन्द्रीय सदस्य चयन भईरहेको छलफललाई अस्वभाविक रुपमा लिन नहुने बताउँछन् । उनी भन्छन्, ‘धेरै साथीहरूले म केन्द्रीय समिति बसेर काम गर्छु भन्नुलाई नकारात्मक रुपमा लिनु जरुरी छैन, जसपामा एकसे एक नेताहरू केन्द्रीय सदस्य बन्न योग्य रहेछन् भनेर बुझ्नुस् न ।’

साविक राजपाको अध्यक्ष मण्डल संयोजक रहीसकेका नेता यादव केही दिनभित्रै केन्द्रीय समिति गठन हुने बताउँछन् ।

जसपा नेताहरूका अनुसार केन्द्रीय समिति र संघीय परिषद् गठनपछि मात्र अरु समायोजनको प्रक्रिया सुरु हुन्छ । यो पनि सहज भने छैन । खासगरी प्रदेश २ को संसदीय दलको नेतामा चयन पेचिलो बन्ने देखिन्छ ।

प्रतिनिधिसभामा संसदीय दलको नेता राजेन्द्र महतोको चर्चा छ । ठाकुर र उपेन्द्र यादव कार्यकारी अध्यक्ष र डा. बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष बनाउने र महतोलाई सबैले संसदीय दलको नेता स्वीकार गर्नसक्ने बताइएको छ ।

के होला प्रदेश २ सरकार ?

प्रदेश २ मा संसदीय दलको नेता मुख्यमन्त्री हुने भएकाले यसमा सहमति जुटाउन कठिन रहेको एक नेताले बताए । प्रदेश २ मा सपा र राजपाले लालबाबु राउतको नेतृत्वमा गठबन्धन सरकार बनाएका थिए ।

साविक सपाबाट मुख्यमन्त्री बनेका राउतको कामप्रति राजपाका नेताहरू सन्तुष्ट छैनन् । तर जसपा अध्यक्ष यादव मुख्यमन्त्री फेर्ने पक्षमा देखिएका छैनन् ।

एक नेताका अनुसार प्रदेश २ मा संसदीय दलको संसदीय दलको नेता चयनपछि मात्र जिल्लामा समायोजन अगाडि बढ्छ । तर केन्द्रीय समिति गठनदेखि प्रदेश २ को संसदीय दलको नेता चयनसम्मका काम सहज नभएकाले मंसिरको डेडलाइन पुरा नहुने देखिएको जसपाका एक नेता बताउँछन् । (Onlinekhabar)

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...