काठमाण्डौ– अफगानिस्तानमा सरकारमा सहभागी हुन पाउने माग गर्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केहीदिन यता लगातार प्रदर्शन गरिरहेको छ ।
तालिबानले महिलाहरुको प्रदर्शनलाई रोक्न अश्रुग्यास र खुर्सानीको धुलोको स्प्रे बनाएर प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएकाले यस्तो गर्नुपरेको तालिबानले बताएको बिबीसीले जनाएको छ ।

राष्ट्रपति कार्यालय अगाडि कामको लागि समान अधिकार र सरकारमा सहभागी हुन पाउनु पर्ने माग गर्दै तालिबानी शासनको त्रासबीच नै महिलाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।
अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त भईरहेको अवस्थामा महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् ।
बीस वर्ष अघि तालिवानी शासनमा महिलामाथि बर्बर अत्याचार भएको, अनिवार्य पुरै शरीर ढाक्ने कपडा र बुर्का लगाउनु पर्ने र दश बर्ष माथिका बालिकहरुलाई विद्यालय जानबाट रोग लगाएको थियो । (बिबीसीको सहयोगमा)