समाजवादी मोर्चालाई प्रदेशको नाम कोशी लेख्न सकस

 लिम्बुवान न्युज
                       


विराटनगर, २५ भदौ । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय सन्देश सभा’ मात्र लेखियो ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाले सुदूरपश्चिमबाहेक पाँचवटा प्रदेशमा सभा आयोजना गर्दा प्रदेशको नाम लेखेको थियो । तर कोशीमा पुग्दा प्रदेशको नाम लेख्न नसकेको हो ।
अरु प्रदेशसभाले अघिल्लो कार्यकालमा नै नामकरण टुंग्याएपनि तत्कालिन प्रदेश १ को प्रदेशसभाले भने दोस्रो चुनावपछि १७ फागुन २०७९ मा मात्र कोशी नाम राखेको थियो ।
प्रदेशसभाले नामकरणको निर्णय गर्दा अहिले समाजवादी मोर्चामा रहेकामध्ये जसपा र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेका थिए । नेकपा माओवादी केन्द्रले कोशी नामको पक्षमा मत दियो, तर पहिचान पक्षधरहरुले आन्दोलन चर्काएपछि पार्टीको बैठकबाटै नामकरणमा मतदान गर्नु गलत भएको निर्णय गरेको थियो ।

मोर्चामा आवद्ध दलका नेताहरुका अनुसार छलफल गरेरै ब्यानरमा प्रदेशसभाको नाम नराखिएको हो । मोर्चाका एक नेता पहिचान पक्षधरलाई नचिढ्याउन र मोर्चामै आवद्ध दलहरुबीच पनि एकरुपता ल्याउन ब्यानरमा नाम नराखिएको बताउँछन् ।
विराटनगरमा सभा व्यवस्थापनको विषयमा समाजवादी मोर्चामा आवद्ध दलहरुको बैठक गत बिहीबार, शुक्रबार र शनिबार बसेको थियो । सभामा प्रदेशको नाम नराख्ने निर्णय भने शनिबारको बैठकले गरेको नेताहरुले बताएका छन् ।
बैठकमा ब्यानरमा प्रदेशको नाम राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको थियो । समाजवादी मोर्चामा रहेका दलहरु अहिले कोशी नामको विपक्षमा रहेको र पुरानै नाम राख्दा पनि विवाद हुन सक्ने देखेर नाम नै नराखिएको एकीकृत समाजवादीका प्रदेश सचिव महेश रेग्मीले बताए । ‘नाम उल्लेख गर्दा विवाद हुनसक्ने अवस्था देखिएपछि शीर्ष नेतृत्वसँगको सल्लाह गरेरै नाम नराखिएको हो’, उनले भने ।
माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेती सभा राजनीतिक भएकाले नाम उल्लेख नगरिएको बताउँछन् । प्रदेशको नाम कानूनी रुपमा मान्ने भएपनि राजनीतिक असहमति रहेकाले सभामा नराखिएको उनी बताउँछन् । उप्रेतीले भने, ‘कानुनी रुपमा कोशी प्रदेश मान्छौं, राजनीतिक रुपमा मान्दैनौ । यो राजनीतिक कार्यक्रम भएका कारण नाम नलेखेको हो ।’

जसपाका अध्यक्ष दीपक याख्याले प्रदेशको नाममा विवाद रहेकाले नाम नराख्ने सहमति भएको बताए । सभामा मन्तव्यका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रदेशको नामकरण सम्वादबाट टुंग्याउनुपर्ने बताए । ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ,’ उनले भने, ‘संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्टयाउन चाहनेहरुले फाइदा उठाउन सक्छन् ।’
एकअर्काको प्रशंसा
सभा सम्बोधनमा भने शीर्ष नेताहरुले अधिकांश समय एकअर्काको प्रशंसामा खर्चिएका थिए । आफूभन्दा अगाडि बोल्ने माधवकुमार नेपाल, उपेन्द्र यादव लगायतका नेताले प्रशंसा गरेपछि प्रफुल्लित देखिएका प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु हाबी हुने जस्तो विडम्बना देखिएको बताए । सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै प्रचण्डले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’
भ्रष्टाचार विरोधी अभियानबाट अतालिएका तत्वहरूले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचार विरोधी अभियान नरोकिने बताए । ‘सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान अन्तिमसम्म पु¥याउने मेरो प्रतिबद्धता छ’ प्रधानमन्त्रीले भने ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनतालाई सकारात्मक सन्देश दिँदै आशा र आत्मविश्वास जगाउन मोर्चा निर्माण भएको बताए । वर्तमान सरकारको प्रशंसा गर्दै उनले त्रुटिहरु सच्याएर सुशासनको पक्षमा काम गर्नुपर्ने पनि बताए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार र राजनीतिक अस्थिरताका कारण लोकतान्त्रिक आन्दोलनका उपलब्धीको आम नागरिकले अनुभूति गर्न नपाएको बताए । देशमा अराजकता बढ्दै गएको बताउँदै उनले सुशासन, विकास नल्याएसम्म अराजकता कायमै रहने बताए ।
अध्यक्ष यादवले प्रधानमन्त्रीलाई खुद्राखाद्रीमा नअल्मली मुलुकलाई निकास दिनेगरी अगुवाइ गर्न सुझाव दिए । ‘मुलुकको परिवर्तनका लागि समस्याहरू समाधान नहुने हो भने कसले र कहिले गर्ने, हामी असफल भयौं, परिवर्तनकारी असफल भए प्रतिगमनमा जान्छ’, यादवले भने, ‘सुशासन, समृद्धि, सामाजिक न्यायको दिशामा अगाडि बढौं, संघीयता कार्यान्वयनमा लागौं म प्रधानमन्त्री प्रचण्डप्रति विश्वस्त छु ।’
नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवले प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरेको बताउँदै देशमा देखिएको समस्या सामधान गर्न मोर्चा गठन गरिएको बताए । तर अहिले क्रान्तिका नायकहरूलाई अपराधी जस्तो गरिरहेको परिस्थिति बन्नुमा दलाल पूँजीवादको मुख्य हात रहेको बताए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;