संविधान दिवस कतै उत्सवः कतै कालो दिन

 लिम्बुवान न्युज
                       

काठमाडौं, ३ असोज । टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी सरकारका तर्फबाट संविधान दिवस भव्य रुपले मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, पूर्व राष्ट्रपतिहरु, पूर्व प्रधानमन्त्री सहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री संविधान दिवसकाे शुभकामना सहित मन्तव्य राख्नु भएकाे थियाे ।

त्यस्तै राष्ट्रपति भवन शीतल निवासमा समेत राष्ट्रपति पौडेलको विशेष आयोजनामा चियापान तथा संविधान घोषणाको राष्ट्रिय दिवस मनाइएको छ । जहाँ पनि विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

२०६२/०६३ को दोस्रो जनआन्दोलनको जगबाट देशमा परिवर्तन सम्भव भएको थियो । वि.सं. २०६४ मा ऐतिहासिक पहिलो संविधानसभाको निर्वाचन भयो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०७० मा दोस्रो संविधानसभाको निर्वाचन पश्चात २०७२ असोज ३ गते आजभन्दा १० बर्ष अघि संविधान जारी गरिएको थियो । यो संविधान जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले बनाएको पहिलो संविधान पनि हो । यस अघि बनेका ६ वटा संविधान जनताबाट निर्वाचित प्रतिनिधिले बनाएका होइनन् ।

देशका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ०८१ असार ३१ गते गठनबन्धन गरेर बनेको सरकारले मुख्य मुद्दानै संविधान संशोधन बनाएका थिए । सात बुँदे सहमतिको मुख्य बुँदा नै संविधान संसोधन बनेको थियो । यद्यपी सरकार गठन भएको एक बर्षभन्दा बढी समयमा पनि संविधान संसोधनको तयारी भएन । यसबाट खासगरी आदिवासी जनजाति मधेशी पहिचान पक्षधर दलहरु रुष्ट बनेका थिए ।

सरकारमाथि चौतर्फी आलोचना भइरहेका बेला गत भदौं २३ गते र २४ गते भएको जेनजी आन्दोलनले देश नयाँ परिस्थितिमा पुगेको छ । ७४ जनाको ज्यान जाने गरी भएको सो आन्दोलनले पुराना पार्टीहरुलाई पुरै झस्काई दिएको छ भने नयाँ पुस्तामा उत्साह जागेको छ । देशमा घटेको हालैको घटना र विषय परिस्थितिका बिच पनि संविधान दिवस मनाइएको छ ।

संविधान दिवसका अवसरमा शुक्रबार कतै भव्य समारोह मनाइरहँदा कतै भने कालो दिन (दिवस) रहेको भन्दै आलोचना र प्रदर्शनहरु भएका छन् । मधेशको राजधानी जनकपुरमा संघीय लोकतान्त्रिक मोर्चाले बृहत जनप्रदर्शन गर्दै कालो दिन मनाएका छन् ।

मधेसी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको साझा संविधान हुने गरी संविधानमा संसोधन वा पुनःलेखन नभएसम्म आन्दोलन जारी रहने स्रोतले बताएको छ । पछिल्लो समयमा जेनजी आन्दोलनको क्रममा पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने, सुशासन कायम गर्नुपर्ने, युवाका कुराहरु समेटिनुपर्ने माग उठेको थियो, ती मागहरु पनि संविधानमा समेटिनुपने मोर्चाका नेताहरुले कुरा उठाएका छन् ।

त्यसो त ०७२ सालमा संविधान जारी भएकै दिन पूर्व लिम्बुवान र मधेशमा ठूल–ठूला विरोध प्रदर्शन समेत भएको थियो । सो आन्दोलनका क्रममा असन्तुष्ट सबै पक्षले अपूर्ण संविधान जारी गरिएकाले संविधान अझैसम्म अपनाउन नसकेको बताइन्छ ।

साथै हालैको जेनजी युवा पुस्ताको आन्दोलनले समेत यो संविधान अपूर्ण रहेको कुरा फेरी प्रमाणित गरेको उनिहरुको भनाइ रहेको छ ।

असोज ३ कालो दिनः संयुक्त पहिचानवादी मोर्चा

त्यसो त मधेशमा मात्र होइन उपत्यकामा समेत संविधान दिवसकै दिन कालो दिनको रुपमा मनाएका छन् ।

संयुक्त पहिचानवादी मोर्चाले ललितपुरस्थित थसिखेलमा आयोजित एक कार्यक्रममा पहिचानवादीहरुको पक्षमा यो संविधान नभएको बताउँदै पुनःलेखन गरिनु पर्ने माग रहेको बताएका छन् ।

मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले १० बर्ष अघि जारी गरिएको संविधान अपुरो र अपूर्ण रहेको जनाउँदै पहिचान सहितको १०+१ प्रान्त स्थापना साथै प्रदेशको नामाङकन र सिमाङ्कन, भाषा, सांस्कृति लगायतका विषयमा समेत संविधानले स्पष्ट नगरको हुँदा संविधान दिवस पहिचानवादी, आदिवासी जनजाति, मधेशी, मुश्लिम, दलित, अल्पसंख्यक तथा पिछडावर्गहरुको निम्ति अपूर्ण रहेको बताउनु भयो ।

जबसम्म एकल जातीय राज्यले बहुलसांस्कृतिक समाजवादी राज्य व्यवस्था गर्दैन र संघीयतालाई समावेशी, समानुपातिक पद्दतीमा लगिदैन तबसम्म संविधान दिवस असोज ३ लाई कालो दिनको रुपमा मनाइने संयोजक लावतीले बताउनु भयो ।

हालैको जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले जेनजीहरुको मागलाई सम्बोधन गर्दै, निर्वाचन गराउने र वर्तमान परिस्थितिलाई सम्हाल्ने जिम्मेवारी पाए पनि संविधान संशोधन लगायतका विषयमा समेत गम्भीर हुन मोर्चा अपिल गर्दछ– संयोजक लावतीले बताउनु भयो ।

कार्यक्रममा मोर्चामा आबद्ध विभिन्न ६ घटकका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको मोर्चाका नेता खगेन्द्र माखिमले लिम्बुवान खबरलाई बताउनु भयो । उक्त कार्यक्रममा सहभागी सबै नेताहरुले टाउकोमा कालो पट्टी बाँधेका थिए ।

 

 

 

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...