दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्।
इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच फोनिजका केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई र नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष चक्र येक्तेन (अभिषेक) लगायतले उनलाई दोसल्ला ओढाएर नगद १० हजार रुपैयाँसहित सम्मानपत्र हस्तान्तरण गरे।
विगत २० वर्षदेखि मातृभाषा पत्रकारितामा सक्रिय राईले २०६४ सालमा स्थानीय रेडियोमार्फत वान्तवा भाषाको समाचार वाचकका रूपमा आफ्नो यात्रा सुरु गरेकी थिइन्। उनी हाल इन्डिजिनियस टेलिभिजन र सप्तकोशी एफएममा वान्तवा भाषाका कार्यक्रम प्रस्तोताका रूपमा कार्यरत छिन्।
पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक तथा लोपोन्मुख समुदायको हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो।
फोनिज इलामका अध्यक्ष याम माबोहाङका अनुसार आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक जना पत्रकारलाई बर्सेनि पुरस्कृत गर्ने कार्यविधि अनुसार राईलाई चयन गरिएको हो। ५ वर्षअघि स्थापना गरिएको यस पुरस्कारबाट यसअघि पत्रकारहरू सटेन्द्र जवेगू, ज्ञानु केदेम, सुजता सुनुवार र रामकुमार लिम्बू (योङहाङ) पुरस्कृत भइसकेका छन्।