दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ ।

महाधिवेशनमा लिम्बुवानका नाै जिल्ला, उपत्यका, प्रवास समितिका गरेर तीन सय बढी प्रतिनिधिहरूकाे सहभागिता रहेको आयोजकले जनाएको छ ।
युमा साम्यो महासभा नेपाल याक्थुङ लिम्बु समुदायमा आफ्नै मौलिक युमा धर्म र संस्कारको पहिचान, संरक्षण तथा संस्थागत विकासका लागि क्रियाशील संस्था हो ।
परम्परागत रूपमा पेगिफाङ्साम्/पेलिफाङहाङ (फेदाङ्बा, साम्बा, येबा/येमा, तुम्याहाङ) आदिमार्फत मौखिक मुन्धुममा सीमित साँस्कृतिक अनुष्ठान, विधि विधान, संहितालाई पछिल्लो समय संगठित र संस्थागत रूप दिने अभियानमा महासभा सक्रिय छ ।
महासभाले राष्ट्रिय जनगणनामा धर्मको महलमा युमा धर्म लेख्दै र लेखाउँदै आएको छ ।