
दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ।
शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको कार्यालयको सभाहलमा एक विशेष समारोहका बीच उक्त कार्यक्रम सम्पन्न भएको हो।
चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान
कार्यक्रममा विभिन्न अक्षयकोष तथा कल्याणकारी कोषबाट चार जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरियो:
-
स्नेहा लिम्बू (कक्षा ९, बालकल्याण मावि, मेचीनगर–५): कियाचु इजरायल कल्याणकारी कोषबाट रु. १०,०००/- (उहाँले विगत ४ वर्षदेखि निरन्तर यो छात्रवृत्ति प्राप्त गर्दै आउनुभएको छ)।
-
भोगेन्द्र लिम्बू (कक्षा ११, गणेश मावि, बुद्धशान्ति–४): कियाचु स्व. देवीबहादुर आङ्बुहाङ् स्मृति अक्षयकोषबाट रु. १०,०००/-।
-
ताःन्छोहाङ्मा योङ्हाङ् लिम्बू (कक्षा ९, जनता मावि, कचनकवल–७): कियाचु याक्थुङ् सहयोग कोषबाट रु. ५,०००/-।
-
सन्देश लिम्बू (कक्षा १०, पञ्चरत्न मावि, विर्तामोड–२): कियाचु याक्थुङ् सहयोग कोषबाट रु. ५,०००/-।
व्यवसायी, संस्था र सांस्कृतिक अभियन्ताहरू सम्मानित
चुम्लुङ्को १२ औं राष्ट्रिय महाधिवेशनमा ३० हजार आर्थिक सहयोग पुर्याउनुहुने भद्रपुरका समाजसेवी एवम् युवा व्यवसायी राजकुमार राईलाई कार्यक्रममा सम्मान गरियो। त्यसैगरी, महाधिवेशनमा आवास तथा व्यवस्थापनमा सहयोग गर्ने होटल डे—ग्लो, भद्रपुर नगर अध्यक्ष मुना इजम कन्दङ्वा र स्वयम्सेवक भूमिका निर्वाह गर्ने हल्दीबारी गाउँ शाखा अध्यक्ष सुमन नेम्बाङ्लाई कदरपत्र प्रदान गरियो।
त्यस्तै कला, चलचित्र, पाःलाम् तथा लोक संस्कृतिको संरक्षणमा योगदान पुर्याउने देहायका व्यक्तित्व तथा समूहलाई सम्मान गरियो:
-
महेन्द्रकुमार लिम्बू (हिमाल लेछर्वो) (नायक/मोडल, कमल–३)
-
चन्द्र फुरुम्वो (निर्देशक/छायाँकनकर्ता/सांस्कृतिक अभियन्ता, कमल–३)
-
बविन आङ्देम्बे (चलचित्र निर्माता/नायक, कमल–५)
-
दुर्गाकुमारी तुम्सा लिम्बू (पाःलाम् गायिका/मोडल, दमक–१)
-
दासमाया लिङ्दम लिम्बू (पाःलाम्/या?लाःङ् अभियन्ता, दमक–५)
-
याक्थुङ् या?लाःङ् दमक समूह र विर्तामोड समूह
-
कियाचु केः लाङ् समूह (बुद्धशान्ति–२) र कियाचु लिम्बू सांस्कृतिक परिषद् (दमक)
“पहचान र अधिकारका लागि अनुशासित र शालिन आन्दोलन आवश्यक”
कार्यक्रमका प्रमुख अतिथि कियाचु संघीय सदस्य तुत्तु धर्मराज लक्सम्बाले चुम्लुङ्ले याक्थुङ्/लिम्बू समुदायको समृद्धि, भाषा, साहित्य र संस्कार संस्कृतिको जगेर्नामा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। पुर्खाहरूको योगदानलाई भुल्न नहुनेमा जोड दिँदै उहाँले अबका अधिकार र पहिचानका आन्दोलनहरू शालिन र भद्र रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।
विशेष अतिथि कियाचु संघीय सल्लाहकार तुत्तु जितबहादुर लावतीले ३७ वर्षदेखि चुम्लुङ्ले सामाजिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्दै सम्पूर्ण लिम्बू समुदायलाई संस्थामा आबद्ध हुन आह्वान गर्नुभयो।
सांस्कृतिक प्रस्तुति र भव्य समापन
कार्यक्रममा गायिका दुर्गा तुम्सा, हिमाल लेछर्वो र दासमाया लिङ्दमले पाःलाम् प्रस्तुत गरेका थिए भने दमक, विर्तामोड र बुद्धशान्तिबाट आएका सांस्कृतिक टोलीहरूले च्याब्रुङ (के लाःङ्) र धाननाच (या?लाःङ्) प्रस्तुत गरी सभालाई सांगीतिक माहौल प्रदान गरेका थिए।
कियाचु झापाका अध्यक्ष सेसेहाङ् फियाकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सदस्य गौरव लिम्बूले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन कियाचु जिल्ला सहसचिव शर्ण लोवाले गर्नुभएको थियो। कार्यक्रममा पूर्व केन्द्रीय सदस्य पूर्ण हाङ्स्रुङ्, लिम्बुवान प्रदेश समितिका उपाध्यक्ष कविन्द्र सेर्मा, प्रदेश मुख्यसचिव दिलकुमार लावती, भक्त खेवाङ्, फौदराज सेर्मा लगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।